नवकान्तिपुर संवाददाता
काठमाडौं, १९ जेठ ।
देशका विभिन्न स्थानमा डुबेर पाँच जनाको मृत्यु भएको छ । नवलपरासी पश्चिम, सुस्ता गाउँपालिका-५ स्थित नारायणी नदीमा माछा मार्ने क्रममा डुबेर सोही गाउँपालिका-५ सेमरी बस्ने ४० वर्षीय विजय लोनियाको शुक्रबार दिउँसो मृत्यु भएको छ ।
यसैगरी नवलपरासी पश्चिम, सुस्ता गाउँपालिका-५ स्थित नारायणी नदीमा डुबेर सोही ठाउँ बस्ने महनब लोनियाको छोरा ११ वर्षीय उमेश लोनियाको शनिबार बिहान मृत्यु भएको छ । पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी रामनगरबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा शव फेला परेको हो ।
त्यस्तै संखुवासभा, पाचखपन नगरपालिका-९ बस्ने सुरेन कुमार राईको छोरा १० वर्षीय सुजल राईको सोही ठाउँस्थित अधेरी खोलामा पौडी खेल्ने क्रममा डुबेर शुक्रबार दिउँसो मृत्यु भएको छ । यस्तै रूपन्देही, बुटवल उपमहानगरपालिका-१ जितगढी किल्ला पछाडी रहेको तिनाउ नदीमा डुबेर सोही उपमहानगरपालिका-६ इट्टाभट्टी बस्ने पाल्पा घर भएका महेन्द्र सुनारको छोरा ८ वर्षीय राज बिकको शुक्रबार दिउँसो मृत्यु भएको छ ।
पौडी खेल्ने क्रममा डुबेर अशक्त भएका उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो । उता मोरङ, रतुवामाइ नगरपालिका-५ चटपटे चोक बस्ने देवनारायण पण्डितकी छोरी ३ वर्षीया दिक्षा पण्डितको सोही ठाउँस्थित पानी जमेको खाल्डोमा डुबेर शनिबार बिहान मृत्यु भएको छ । डुबेर अशक्त भएकी उनको रंगेली अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।