नवकान्तिपुर संवाददाता
काठमाडौं, २४ जेठ ।
सुनको मूल्यले ऐतिहासिक रेकर्ड कायम गरेको छ । बिहीबार तोलामा १ हजार ८०० रुपैयाँ वृद्धि भइ सुनको मूल्य अहिलेसम्मकै सर्वाधिक मूल्य पुगेको हो ।
स्थानीय बजारमा आज (बिहीबार) छापावाल सुनको मूल्य प्रतितोला रु १ लाख ४४ हजार रहेकोमा बुधबार रु १ लाख ४२ हजार २०० मा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु १ लाख ४३ हजार ३०० रहेकामा बुधबार प्रतितोला रु १ लाख ४१ हजार ५०० मा कारोबार भएकोे थियो ।
यता आज चाँदीको मूल्य पनि बुधबारको मूल्य भन्दा २५ रुपैयाँ बढ्दै एक हजार ८५० मा कारोबार भएको छ । बुधबार चाँदी प्रतितोला एक हजर ८२५ मा कारोबार भएको थियो । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने घटबढका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।