नवकान्तिपुर संवाददाता
काठमाडौं, ३१ जेठ ।
देशका विभिन्न स्थानबाट जबरजस्ती करणी गरेको अभियोगमा दुई जना पक्राउ परेका छन् । २३ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा बर्दिया, गुलरिया नगरपालिका-१ बिजपुर ममतापुरिया टोल बस्ने ४० वर्षीय राकेश कुमार बन्जारालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
बन्जाराले ती महिलालाई सोमबार राति पीडितकै कोठामा प्रवेश गरी जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी खैरापुर(क)बाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । त्यस्तै १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा पाँचथर फाल्गुनन्द गाउँपालिका-४ बस्ने १९ वर्षीय सुजन लिम्बुलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
लिम्बुले ती किशोरीलाई ओखलढुंगा मोलुङ गाउँपालिका-८ बर्खे भन्ने स्थानको जंगलमा मंगलबार साँझ जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय ओखलढुंगाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।