डुबेर पाँच जनाको मृत्यु

देशका विभिन्न स्थानमा डुबेर पाँच जनाको मृत्यु भएको छ । धनुषा, सबैला नगरपालिका-१० सिमडारीस्थित पोखरीमा डुबेर सोही ठाउँ बस्ने बास लाल भन्ने जितेन्द्र मुखियाको छोरा २ वर्षीय कुश कुमार मुखियाको शुक्रबार दिउँसो मृत्यु भएको छ ।

नुहाउने क्रममा डुबेर अशक्त भएका उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो । त्यस्तै पर्सा, जगरनाथपुर गाउँपालिका-१ पिडारी र पाण्डेपुरको बिचमा रहेको चमरी खोलाको ड्याममा नुहाउने क्रममा डुबेर सोही ठाउँ बस्ने जोगी राउत गद्धीको छोरा १० वर्षीय अब्दुल कलाम गद्धीको शुक्रबार दिउँसो मृत्यु भएको छ ।



यस्तै प्युठान, प्युठान नगरपालिका-९ गुरी गाउँ बस्ने २८ वर्षीय बामदेव केसीको छोरा १५ महिनाको अर्बिन केसीको सोही ठाउँस्थित कुलोमा डुबेर शुक्रबार दिउँसो मृत्यु भएको छ । डुबेर अशक्त भएका उनको जिल्ला अस्पताल बिजुवार प्युठानमा उपचारको क्रममा मृत्यु भएको हो ।उता सिरहा, अर्नामा गाउँपालिका-३ हर्कट्टास्थित पोखरीमा डुबेर धनगढिमाई नगरपालिका-१० घर भएकी निलम कुमारी महतोको छोरा २ वर्षीय रिमान्स महतोको शुक्रबार दिउँसो मृत्यु भएको छ ।

डुबेर अशक्त भएका उनको उपचारको लागि लाईफ लङ्ग अस्पताल गोलबजारतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । यता नवलपरासी पूर्व, विनयी त्रिवेणी गाउँपालिका-२ स्थित नारायणी नदीमा डुबेर सोही ठाउँ बस्ने चन्दन गुप्ताकी छोरी १३ वर्षीया आँचल गुप्ताको शुक्रबार दिउँसो मृत्यु भएको छ । डुबेर अशक्त भएकी उनको सुरवी मेडिकल केयर भारतमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार