नवकान्तिपुर संवाददाता
काठमाडौं, ३ असार ।
देशका विभिन्न स्थानमा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । रूपन्देही, बुटवल उपमहानगरपालिका-९ नयाँ बसपार्कस्थित सडकमा लु.१ क ५४१९ नम्बरको बसले लु.४५ प ७६६८ नम्बरको स्कुटरलाई आइतबार दिउँसो ठक्कर दिँदा स्कुटर चालक तिलोत्तमा नगरपालिका-३ बस्ने ४७ वर्षीय गणेश भुषालको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । त्यस्तै कैलाली, धनगढी उपमहानगरपालिका-१४ डि गाउँस्थित सडकमा से.५ प ६१६० नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ७४ वर्षीय चित्र बहादुर सुनारको आइतबार राति मृत्यु भएको छ ।
ठक्करबाट गम्भीर घाइते भएका उनको निसर्ग अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यस्तै बाँके, कोहलपुर नगरपालिका-१४ फनपार्कस्थित सडकमा ना.५ ख ५४४२ नम्बरको बसको ठक्करबाट साइकलयात्री सोही ठाउँ बस्ने ६५ वर्षीय बुधाई धोबीको गएराति मृत्यु भएको छ ।
ठक्करबाट गम्भीर घाइते भएका उनको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।