मृत अवस्थामा आठ जना फेला

देशका विभिन्न स्थानबाट मृत अवस्थामा आठ जना फेला परेका छन् । सुनसरी, दुहबी नगरपालिका-११ तनमुना बस्ने ३२ वर्षीय जेशिस तबदार सोही ठाउँस्थित नहरको कल्भट मुनि पानीमा मंगलबार मृत अवस्थामा फेला परेका छन् । उनी सोमबार साँझदेखि हराएको भन्ने खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी चौकी तनमुनाबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा उनको शव फेला पारेको हो ।

त्यस्तै मकवानपुर, हेटौंडा उपमहानगरपालिका-२ पुरानो मकवानपुर रोड बस्ने ५४ वर्षीय रामेश्वर श्रेष्ठ आफ्नै घरको शौचालयमा मंगलबार मृत अवस्थामा फेला परेका छन् । यस्तै सिन्धुपाल्चोक, जुगल गाउँपालिका-१ लामिडाँडा बस्ने ३२ वर्षीय दिपक गुरूङ चौतारा सांगाचोकगढी नगरपालिका-१ स्थित चंलाङ्गे भिरको खोचमा मंगलबार मृत अवस्थामा फेला परेका छन् ।



सोमबार राति घरबाट हिँडेको र हालसम्म सम्पर्कमा नआएको भन्ने खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट बासखर्कबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा उनको शव फेला पारेको हो । उता रूपन्देही, तिलोत्तमा नगरपालिका-१४ नमुना टोलस्थित सडकको नालीमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ५५ वर्षीय पुरूष मंगलबार मृत अवस्थामा फेला परेका छन् ।

यता सिराहा, धनगढिमाई नगरपालिका-१० धनगढी बजारस्थित धनगढीमाई होटल एण्ड गेष्ट हाउसको कोठामा सोही नगरपालिका-३ बस्ने ३५ वर्षीय प्रमोद कामैत सोमबार मृत अवस्थामा फेला परेका छन् । उनीसँगै कोठामा बसेकी अपरिचित महिला तत्काल फरार रहेको बताइएको छ । यस्तै मोरङ, सुनवर्षी नगरपालिका-२ खत्वे टोल बस्ने ७० वर्षीय पुनलाल राजवंशी आफ्नै घरमा सोमबार मृत अवस्थामा फेला परेका छन् ।

यसैगरी कपिलवस्तु, कपिलवस्तु नगरपालिका-२ बसपार्कस्थित प्रतीक्षालयमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३२ वर्षीय पुरूष सोमबार मृत अवस्थामा फेला परेका छन् । त्यस्तै रूपन्देही, देवदह नगरपालिका-४ सेमरनास्थित खेतको छेउमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी २५ वर्षीय पुरूष सोमबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार