डुबेर पाँच जनाको मृत्यु

देशका विभिन्न स्थानमा डुबेर पाँच जनाको मृत्यु भएको छ । कास्की, पोखरा महानगरपालिका-१८ खपौदीस्थित फेवातालमा डुबेर सोही ठाउँ बस्ने बागलुङ घर भएका ३३ वर्षीय सुक बहादुर मगरको बुधबार दिउँसो मृत्यु भएको छ ।

माछा मार्ने क्रममा मानिस डुबेको भन्ने खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय बैदाम, नेपाली सेना र सशस्त्र प्रहरी बल समेतको संयुक्त टोलीले उद्धार गरी उपचारको लागि पश्चिम क्षेत्रीय अस्पताल पठाएकोमा उपचारको क्रममा उनको मृत्यु भएको हो । त्यस्तै धनुषा, लक्ष्मिनिया गाउँपालिका-५ बनिनिया बस्ने ललित यादवको छोरा १८ महिनाको रियान्स यादवको आफ्नै घर नजिकै रहेको पोखरीमा डुबेर बुधबार बिहान मृत्यु भएको छ ।



डुबेर अशक्त भएका उनको जानकी मेडिकल कलेज रमदैयामा उपचारको क्रममा मृत्यु भएको हो । यसैगरी धनुषा, क्षिरेश्वरनाथ नगरपालिका-६ सखुवा बजार बस्ने रंजित यादवको छोरा ४ वर्षीय सुशान्त यादवको सोही ठाउँस्थित सार्वजनिक पोखरीमा डुबेर बुधबार साँझ मृत्यु भएको छ । पोखरीमा डुबेर अशक्त भएका उनको जानकी मेडिकल कलेज रमदैयामा उपचारको क्रममा मृत्यु भएको हो ।

यस्तै नवलपरासी पश्‍चिम, रामग्राम नगरपालिका-१६ लालपाटी बस्ने दिपेन्द्र सहनीको छोरा ५ वर्षीय अरबिन सहनीको सोही ठाउँस्थित तुरिया खोलामा डुबेर बुधबार साँझ मृत्यु भएको छ । पौडी खेल्ने क्रममा डुबेर अशक्त भएका उनको जिल्ला अस्पताल परासीमा उपचारको क्रममा मृत्यु भएको हो ।

उता कपिलवस्तु, महाराजगंज नगरपालिका-१ पल्टा बस्ने राम दास कुर्मीकी छोरी ७ वर्षीया अनिता कुर्मीको सोही ठाउँस्थित सार्वजनिक इनारमा डुबेर बुधबार साँझ मृत्यु भएको छ । कुर्मी उक्त इनारमा डुबिरहेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय महाराजगंज र वडा प्रहरी कार्यालय चन्द्रौटाबाट खटिएको प्रहरीले उद्दार गरी उपचारको लागि जिल्ला अस्पताल पठाएकोमा उपचारको क्रममा उनको मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार