सवारी दुर्घटनामा तीन जनाको मृत्यु

देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । गुल्मी, रेसुङ्गा नगरपालिका-४ रायढुङ्गास्थित सडकमा लु.४ त २४६५ नम्बरको ट्याक्टर सडकबाट अन्दाजी ६० मिटर तल खसेर बिहीबार बेलुकी दुर्घटना हुँदा ट्याक्टरमा सवार मालिका गाउँपालिका-२ दर्लिङ बस्ने टिकाराम विकको छोरा ६ वर्षीय शिब विकको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल तम्घासमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा गम्भीर घाइते भएका ट्याक्टर चालकको सोही अस्पताल हुँदै लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पामा उपचार भइरहेको छ । त्यस्तै मोरङ, कानेपोखरी गाउँपालिका-७ लेटाङ मोडस्थित सडकमा प्रदेश १-०१-००१ च ७६८६ नम्बरको बोलेरो पिकअप गाडीको ठक्करबाट हाल नाम, थर, वतन नखुलेका अन्दाजी ५० वर्षीय पुरूषको गएराति मृत्यु भएको छ ।



बिहीबार बेलुकी ठक्करबाट गम्भीर घाइते भएका उनको ट्रमा सेन्टर मंगलबारे हुँदै नोबेल अस्पताल बिराटनगरमा थप उपचारको क्रममा मृत्यु भएको हो । बोलेरो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यस्तै कपिलवस्तु, बुद्धभुमि नगरपालिका-९ ईमिलियास्थित सडकमा सु.प्र.०१-००१ ख ३३५३ नम्बरको बसको ठक्करबाट पैदलयात्री हाल नाम, थर, वतन नखुलेका करिब ३० वर्षीय पुरूषको शुक्रबार बिहान मृत्यु भएको छ ।

बिहीबार साँझ ठक्करबाट गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल तौलिहवामा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार