कांग्रेस र एमालेबीच नयाँ सरकार गठन गर्ने सहमति, ओली पहिलो चरणमा प्रधानमन्त्री बन्ने

नेपाली कांग्रेस र नेकपा एमालेबीच नयाँ सरकार बनाउने सहमति भएको छ । सोमबार राति कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच यस्तो सहमति भएको हो ।

सोमबार नै सहमतिपत्रमा हस्ताक्षर गर्ने भएको कांग्रेस नेताहरुले जानकारी दिए । सहमति भएसंगै पहिलो चरणमा एमाले अध्यक्ष ओलीको नेतृत्वमा सरकार गठन हुने दोस्रो कार्यकाल देउवाको नेतृत्वमा सरकार गठन हुनेछ ।



त्यस्तै बैठकमा कुन पार्टीले कति मन्त्रालय लिनेदेखि प्रदेशमा कुन पार्टीले कति प्रदेश सरकारको नेतृत्व लिने भन्ने विषयमा पनि सहमति भएको छ । एमालेले अर्थसहित ९ वटा मन्त्रालय र कांग्रेसले गृहसहित १० वटा मन्त्रालय लिनेछ । त्यस्तै प्रदेशमा कांग्रेसले बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व गर्दा एमालेले कोशी, लुम्बिनी र कर्णाली प्रदेश सरकारको नेतृत्व गर्नेछ भने मधेस प्रदेश सरकारको नेतृत्व मधेसवादी दललाई नै दिने सहमति बनेको हो ।

प्रमुख ती दुई दलका बीचमा निर्वाचन प्रणालीलगायतका विषयमा संविधान संशोधन गर्न सुझाव आयोग बनाउने समझदारी पनि बनेको बताइएको छ । दुवै पार्टीले आन्तरिक रूपमा थप छलफल गरेपछि नयाँ बन्ने सरकारमा मन्त्रालयगत जिम्मेवारीसम्बन्धी निष्कर्षमा पुग्ने जनाएका छन् ।

नयाँ सत्ता समीकरणका लागि सभापति देउवा र अध्यक्ष ओलीबीच केही दिन नियमित रूपमा छलफल हुँदै आएको थियो । सोमबारको कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारीको बैठकमा सभापति देउवाले अध्यक्ष ओलीसँग यही असार १५ गते भएको भेट सकारात्मक भएको जानकारी गराउनुभएको थियो ।

परिवर्तित राजनीतिक सन्दर्भको विषय सार्वजनिक भएपछि सो बारेमा छलफल गर्न कांग्रेस, एमाले, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टीको आ–आफ्ना पदाधिकारी र सचिवालय बैठक बस्दै छन् ।

 

सम्बन्धित समाचार