सवारी दुर्घटनामा नौ जनाको मृत्यु

देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा नौ जनाको मृत्यु भएको छ । रोल्पा, माडी गाउँपालिका-४ परेवा छहरास्थित सडकमा घर्तिगाउँबाट तालाबाङतर्फ जाँदै गरेको लु.१ ज ३२५२ नम्बरको जिप अनियन्त्रित भई सडकबाट करिब ४ सय मिटर तल खसेर सोमबार दिउँसो दुर्घटना हुँदा जिपमा सवार ७ जनाको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको जिल्ला अस्पताल रेउघामा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका जिपका चालक समेत ६ जनाको चौरहा अस्पताल बुटवल रूपन्देहीमा उपचारको भइरहेको छ । त्यस्तै प्यूठान, मल्लरानी गाउँपालिका-१ अर्बाङस्थित सडकमा लु.५१ प २१०४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सोमबार साँझ दुर्घटना हुँदा चालक प्युठान नगरपालिका-७ पुण्यखोला बस्ने ३४ वर्षीय अनिल केसीको घटनास्थलमै मृत्यु भएको छ ।



यस्तै मोरङ, उर्लाबारी नगरपालिका-६ सिसौलीस्थित सडकमा बाग्मती प्रदेश ०३-००१क १०९० नम्बरको टिपरले प्रदेश १-०१-०१४ प ६८३३ नम्बरको स्कुटरलाई सोमबार दिउँसो ठक्कर दिँदा स्कुटर चालक उर्लाबारी नगरपालिका-६ बस्ने २७ वर्षीया सिता बोहोराको मृत्यु भएको छ ।दुर्घटनामा गम्भीर घाइते भएकी उनको मदन भण्डारी अस्पताल ट्रमा सेन्टर मंगलबारेमा उपचारको क्रममा मृत्यु भएको हो ।

साथै दुर्घटनामा घाइते भएका स्कुटरमा सवार एक जनाको न्यूरो अस्पताल विराटनगरमा उपचार भइरहेको छ । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाको सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार