सवारी दुर्घटनामा सात जनाको मृत्यु

देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा सात जनाको मृत्यु भएको छ । कैलाली, गोदावरी नगरपालिका-७ हरैया स्थित सडकमा बा.५ ख १४१० नम्बरको बसले सु.प.प्र.०१-०११ प ४६५४ नम्बरको मोटरसाइकललाई बुधबार दिउँसो ठक्कर दिँदा मोटरसाइकलमा सवार गोदावरी नगरपालिका-६ बडैया बस्ने ३५ वर्षीय नन्दराम चौधरीको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकलाई उपचारको लागि निसर्ग अस्पताल धनगढीतर्फ पठाइएको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । त्यस्तै धनुषा, नगराईन नगरपालिका-३ बलहती पोखरी नजिक सडकमा ना.५ ख २८४० नम्बरको बसले प्रदेश २-०२-००१प २४८७ नम्बरको मोटरसाइकललाई बुधबार दिउँसो ठक्कर दिँदा मोटरसाइकल चालक मुखियापट्टी मुसहरनिया गाउँपालिका-१ बस्ने २५ वर्षीय दिपक साहको मृत्यु भएको छ ।



दुर्घटनामा गम्भीर घाइते भएका उनको जानकी हेल्थ केयर अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको रामनन्द अस्पताल जनकपुरमा उपचार भइरहेको छ । हाल फरार बस चालकको प्रहरीले खोजी गरिरहेको छ । यस्तै रौतहट, चन्द्रपुर नगरपालिका-१० बलुवा स्थित ना ६ त ८४४७ नम्बरको ट्याक्टर खेत जोत्ने क्रममा अनियन्त्रित भई पल्टिदाँ चालक वृन्दावन नगरपालिका-२ बस्ने २२ वर्षीय सरोज पटेलको बुधबार दिउँसो घटनास्थलमै मृत्यु भएको छ ।

यता चितवन, भरतपुर महानगरपालिका-१० बिशाल चोकमा काठमाडौंबाट काकरभिट्टातर्फ जाँदै गरेको प्रदेश १-०२-००२ ख ०३५३ नम्बरको बसको ठक्करबाट साइकलयात्री भरतपुर महानगरपालिका-११ भोजाड बस्ने ७२ वर्षीय खेमलाल अधिकारीको मंगलबार राति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको नयाँ मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

उता रामेछाप, मन्थली नगरपालिका-७ कल्लेरीमा मन्थलीबाट पिङ्खुरीतर्फ जाँदै गरेको प्रदेश ३-०१-०२३ च ३९०९ नम्बरको बोलेरो गाडी अनियन्त्रित भई सडकबाट करिब २ सय मिटर तल खसेर मंगलबार बेलुकी दुर्घटना हुँदा बोलेरोमा सवार मन्थली नगरपालिका-७ कल्लेरी गणेशथान बस्ने ६५ वर्षीया माया विकको घटनास्थलमै मृत्यु भएको छ । साथै दुर्घटनामा घाइते भएका बोलेरो चालकको मन्थली अस्पताल रामेछापमा र बोलेरोमा सवार ९ जनाको राष्ट्रिय ट्रमा सेन्टर काठमाडौंमा उपचार भइरहेको छ ।

यसैगरी रोल्पा, रून्टिगढी गाउँपालिका-६ स्याला स्थित सडकमा रा.१ ख २१३१ नम्बरको मिनी ट्रक मंगलबार राति दुर्घटना हुँदा चालक रून्टिगढी गाउँपालिका-६ निगालपानी बस्ने ३२ वर्षीय महेश थापाको घटनास्थलमै मृत्यु भएको छ । साथै दुर्घटनामा घाइते भएका मिनी ट्रकमा सवार १ जनाको प्राथमिक स्वास्थ्य केन्द्र होलेरीमा उपचार भइरहेको छ ।

त्यसैगरी मोरङ, सुनवर्षी नगरपालिका-६ खिर्किडाँगी स्थित सडकमा झपडतलबाट खिर्किडाँगीतर्फ जाँदै गरेको को.१ प ६३४८ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ५० वर्षीय सुरेन दासको मंगलबार राति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको रंगेली अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार