सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ । रौतहट, गढिमाई नगरपालिका-६ सिङगारमन स्थित सडकमा धनहरीबाट सर्लाहीतर्फ जाँदै गरेको एचआर ७० डि ८३८२ नम्बरको स्कारपियो गाडी अनियन्त्रित भई शुक्रबार बिहान दुर्घटना हुँदा गाडीमा सवार काठमाडौं घर भएका ५५ वर्षीय कुल बहादुर श्रेष्ठ र ७ वर्षीया स्वेता पंडितको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको प्रादेशिक अस्पताल गौरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका गाडीमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । प्रहरीले हाल फरार स्कारपियो चालकको खोजी गरिरहेको छ । त्यस्तै बारा, महागढीमाई नगरपालिका-६ भुतही पुल नजिक सडकमा हाल नम्बर नखुलेको सवारी साधनको ठक्करबाट सोही नगरपालिका-२ मैनी टोल बस्ने २० वर्षीयत रथ चालक रहम्द अंसारीको शुक्रबार बिहान मृत्यु भएको छ ।



उक्त स्थानमा रथको टायर फेर्ने क्रममा अंसारीलाई सवारी साधनले ठक्कर दिँदा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल कलैयामा उपचारको क्रममा मृत्यु भएको हो । साथै ठक्करबाट घाइते भएका सोही ठाउँ बस्ने ३० वर्षीय प्रमेश्वर प्रसाद कुश्वाहाको सोही अस्पतालमा उपचार भइरहेको छ । ठक्कर दिने सवारी साधनको प्रहरीले खोजी गरिरहेको छ । यस्तै दाङ, राजपुर गाउँपालिका-२ प्रतापपुर स्थित सडकमा लु.३० प ५४४४ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही नगरपालिका-३ खरदरिया बस्ने ६० वर्षीय राम जानकी अहिरको बिहीबार राति मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाइते भएका उनको लमही अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार मोटरसाइकल चालकको प्रहरीले खोजी गरिरहेको छ । उता मोरङ, पथरी शनिश्चरे नगरपालिका-१० डास खोला स्थित सडकमा प्र.१-०२-००१ क ५०६३ नम्बरको टिपरले प्र.१-०२-०४० प ७८७५ नम्बरको स्कुटरलाई बिहीबार साँझ ठक्कर दिदाँ स्कुटर चालक इलाम चुलाचुली गाउँपालिका-५ बस्ने ३३ वर्षीय सुभाष राईको मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाइते भएका उनको पथरी अस्पताल हुँदै आर्या न्यूरो अस्पताल बिराटनगरमा थप उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार टिपर चालकको प्रहरीले खोजी गरिरहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार