नवकान्तिपुर संवाददाता
काठमाडौं, ९ साउन ।
काठमाडौँबाट पोखरातर्फ प्रस्थान गर्नेक्रमा सौर्य एयरको ९ एन एएमई जहाज दुर्घटना हुँदा विमानमा सवार १८ जनाको मृत्यु भएको छ । उक्त जहाज उड्ने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ‘रन वे’ पूर्वतर्फको खाल्डोमा खसेको थियो ।
विमानमा सवार १८ जनाको शव यत्रतत्र छरिएर रहेका अवस्थामा सङ्कलन गरिएको विमानस्थल सुरक्षार्थ खटिएका वरिष्ठ प्रहरी उपरीक्षक डम्बर विकले जानकारी दिनुभयो । उहाँले सङ्कलित ती शव अहिले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा लैजाने तयारी गरिएको बताउनुभयो । प्रहरी उपरीक्षक विकका अनुसार सो विमानका चालक दलका एक सदस्यलाई जीवितै उद्धार गरिएको छ ।
सौर्य एयरको जहाज मर्मतका लागि कर्मचारी र प्राविधिक लिएर पोखरा जाँदै गरेको उक्त विमान दुर्घटनामा परेको हो ।
दुर्घटनामा परी मृत्यु हुनेहरुमा को–पाइलट सुशान्त कटुवाल, अमित मान महर्जन, सागर आचार्य, दीलिप वर्मा, मनुराज शर्मा, अश्विन निरौला, सुदीप लाल जोशी, सर्वेश मरासिनी, श्याम विन्दुकार, नवराज आले,राजाराम आचार्य, प्रिजा खतिवडा, अधिराज शर्मा, उद्धव पुरी, यज्ञ प्रसाद पौडेल, सन्तोष महतो, पुन्यरत्न शाही र आरिफ रेडा रहेका छन् । आरिफ यमनका विदेशी नागरिक हुन् ।
दुर्घटानाग्रस्त विमानबाट चालक मनीष शाक्यलाई सकुशल उद्धार गरेर काठमाडौं मेडिकल कलेज शिक्षण अस्पताल लगिएको र उनको अवस्था खतरामुक्त रहेको छ ।
यो पनि पढ्नुस :