मृत अवस्थामा आठ जना फेला

देशका विभिन्न स्थानबाट मृत अवस्थामा आठ जना फेला परेका छन् । काठमाडौं महानगरपालिका-१६ मैपीस्थित कबिता दाहालको घरमा धादिङ निलकण्ठ नगरपालिका-६ घर भएकी २२ वर्षीया सुनिता दर्जी सोमबार मृत अवस्थामा फेला परेकी छिन् ।

त्यस्तै ताप्लेजुङ, सिदिङवा गाउँपालिका-७ बस्ने ४५ वर्षीय सिताराम तामाङ सोही ठाउँस्थित छाँगे खोलाको किनारमा आइतबार मृत अवस्थामा फेला परेका छन् । यस्तै काठमाडौं, टोखा नगरपालिका-९ कुलान्त मार्गस्थित न्यू पर्वत लेस्पार गेष्टहाउसमा काठमाडौं महानगरपालिका-४ ठेगाना भएका ३० वर्षीय अर्जुन थापा मगर आइतबार मृत अवस्थामा फेला परेका छन् ।

मगर शनिबार देखि उक्त होटलमा बस्दै आएको बुझिएको छ । यस्तै महोत्तरी, बर्दिबास नगरपालिका-६ स्थित रातुखोलाको किनारमा रहेको पानीको खाल्डोमा डुबेर मृत्यु भएको अवस्थामा सोही नगरपालिका-७ किसाननगर बस्ने बिक्रम अधिकारीको छोरा १२ वर्षीय रिदम अधिकारी आइतबार फेला परेका छन् ।

यता नवलपरासी पश्‍चिम, रामग्राम नगरपालिका-४ जितपुर बस्ने ८५ वर्षीया प्रभावती चौधरी आफ्नै घर नजिकै पोखरीमा डुबेर मृत्यु भएको अवस्थामा आइतबार फेला परेकी छिन् । यसैगरी नवलपरासी पश्‍चिम, पाल्हिनन्दन गाउँपालिका-५ हर्दी बस्ने २० वर्षीय रोशन कुमार बढई भन्ने सुर्य कुमार बढई आफ्नै घरमा सोमबार मृत अवस्थामा फेला परेका छन् ।

उनको शव घाँटी काटिएको अवस्थामा फेला परेकोले जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्‍चिम समेतबाट प्रहरी टोली खटी गएर सोधपुछ तथा थप अनुसन्धान कार्य गरिरहेको छ । उता बाँके, नेपालगंज उपमहानगरपालिका-१८ कारकाँदोस्थित खाद्य संस्थानले निर्माण गरिरहेको सटरको सिंढीमा हाल नाम, थर, वतन नखुलेका करिब ६५ वर्षीय पुरूष आइतबार मृत अवस्थामा फेला परेका छन् ।

त्यसैगरी धनुषा, जनकपुर उपमहानगरपालिका-४ नमस्कार चोक पुरानो बसपार्कमा हाल नाम, थर, वतन नखुलेका करिब ५५ वर्षीय पुरूष आइतबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार