नवकान्तिपुर संवाददाता
काठमाडौं, १७ साउन ।
देशका विभिन्न स्थानबाट मृत अवस्थामा नौ जना फेला परेका छन् । धादिङ, गल्छी गाउँपालिका-१ थानचौर बस्ने ४८ वर्षीय सिताराम गैरे सोही ठाउँस्थित सडकको नालीमा बुधबार मृत अवस्थामा फेला परेका छन् ।
त्यस्तै झापा, झापा गाउँपालिका-७ टप्पु गाउँ माईखोलाको बाँधमा शिवसताक्षी नगरपालिका-४ बस्ने ७२ वर्षीय मंगल मुर्मु बुधबार मृत अवस्थामा फेला परेका छन् । यस्तै मोरङ, बेलबारी नगरपालिका-५ प्रगतिटोल बस्ने ६१ वर्षीय रत्न दर्जी सोही ठाउँस्थित पट्वा घारीमा बुधबार मृत अवस्थामा फेला परेका छन् ।
त्यसैगरी काभ्रे, रोशी गाउँपालिका-५ सिसाखानी घर भई सोही गाउँपालिका-२ गुम्बा टोलस्थित छोरीको घरमा बस्दै आएका ७० वर्षीय सुब्बा सिंह तामाङ नमोबुद्ध नगरपालिका-९ गहतेदीस्थित गोरेटो बाटोको छेउमा बुधबार मृत अवस्थामा फेला परेका छन् ।
यसैगरी काभ्रे, पाँचखाल नगरपालिका-६ सत्यालवेशी बस्ने २२ वर्षीय विजय श्रेष्ठ सोही ठाउँस्थित सामुदायिक वनमा बुधबार मृत अवस्थामा फेला परेका छन् । गत असार १८ गतेदेखि हराई बेपत्ता भएका उनको खोजी गर्ने क्रममा शव फेला परेको हो । उता रूपन्देही, देवदह नगरपालिका-८ बंगाली बस्ने ५२ वर्षीया मिरा विक सोही नगरपालिका-११ भुताहास्थित रोहिणी खोलाको किनारमा बुधबार मृत अवस्थामा फेला परेकी छिन् ।
यता गोरखा, पालुङटार नगरपालिका-१ कोलकाटे बस्ने ७० वर्षीय खिल बहादुर भुजेल सोही नगरपालिका-१ खोप्लाङस्थित खोप्लाङ स्वास्थ्य चौकीको कम्पाउण्ड भित्रको झाडीमा बुधबार मृत अवस्थामा फेला परेका छन् । यस्तै पाँचथर, फालेलुङ गाउँपालिका-५ बस्ने बालकृष्ण राईको छोरा ११ वर्षीय दिप राई सोही ठाउँस्थित खेदोक खोलामा डुबेर मृत्यु भएको अवस्थामा बुधबार फेला परेका छन् ।
त्यस्तै नवलपरासी पूर्व, विनयीत्रिवेणी गाउँपालिका-७ ब्यारेज पुलस्थित पानीमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ५० वर्षीय पुरूष बुधबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।