नवकान्तिपुर संवाददाता
काठमाडौं, १८ साउन ।
देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा आठ जनाको मृत्यु भएको छ । कञ्चनपुर, शुक्लाफाँटा नगरपालिका-३ पिपलाडीस्थित सडकमा से.३प ५९१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालक शुक्लाफाँटा नगरपालिका-३ जोनापुर बस्ने ३२ वर्षीय खुसीराम चौधरीको मृत्यु भएको छ ।
बिहीबार राति भएको उक्त दुर्घनामा गम्भीर घाइते भएका उनको मायामेट्रो अस्पताल धनगढीमा थप उपचारको क्रममा शुक्रबार बिहान मृत्यु भएको हो । त्यस्तै बारा, आदर्श कोतवाल गाउँपालिका-६ लौकाहा चोकस्थित सडकमा सिम्रौनगढबाट रौतहटतर्फ जाँदै गरेको ना.४६ प ६२७१ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही गाउँपालिका-३ भटिनिया बस्ने ७२ वर्षीया पनौती देवीको शुक्रबार दिउँसो मृत्यु भएको छ ।
ठक्करबाट गम्भीर घाइते भएकी उनको नेशनल मेडिकल कलेज वीरगंजमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यस्तै सुनसरी, इटहरी उपमहानगरपालिका-६ बिरेन्द्र चोकस्थित सडकमा प्रदेश १-०२-००१ ख ९२९४ नम्बरको ट्रकको ठक्करबाट पैदलयात्री हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४५ वर्षीय पुरूषको शुक्रबार दिउँसो मृत्यु भएको छ ।
ठक्करबाट गम्भीर घाइते भएका उनको बिपी.कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान घोपामा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यता काठमाडौं महानगरपालिका-६ सरस्वतीनगरस्थित सडकमा बागमती प्रदेश ०२- ०२५ प ०६०३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई गएराति दुर्घटना हुँदा चालक मुगु घर भएका २८ वर्षीय मन्दीप मल्लको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । उता झापा, हल्दिवारी गाउँपालिका-५ सोडागान्धी चोकस्थित सडकमा मे.१ ज ३२६१ नम्बरको पिकअप गाडीले मे.९ प ९६८५ नम्बरको मोटरसाइकललाई बिहीबार बेलुकी ठक्कर दिँदा मोटरसाइकलमा सवार हाल नाम, थर, वतन नखुलेका २ जना पुरूषको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको विएण्डसि अस्पताल विर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो । पिकअप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यसैगरी सुर्खेत, बिरेन्द्रनगर नगरपालिका-७ भुकम्प मापन केन्द्र नजिकै सडकमा भे.६ प ३९१६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बिहीबार राति दुर्घटना हुँदा चालक सोही नगरपालिका-७ इत्राम बस्ने ३० वर्षीय दिपेश केसीको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको कर्णाली प्रदेश अस्पताल कालागाउँ सुर्खेतमा उपचारको क्रममा मृत्यु भएको हो ।