नवकान्तिपुर संवाददाता
काठमाडौं, २६ साउन ।
ब्राजिलको साओ पाउलोमा यात्रुवाहक विमान दुर्घटना हुँदा ६१ जनाको मृत्यु भएको छ । ब्राजिलको साओ पाउलो नजिक विन्हेडो सहरमा शुक्रबार स्थानीय समयअनुसार दिउँसो साढे १ बजे वोयपास एयरलाइन्सको एटीआर–७२ जहाज दुर्घटना हुँदा त्यसमा सवार सबै यात्रुको मृत्यु भएको हो ।
एटीआर ७२–५०० मा ५७ यात्रु र चालक दलका चार सदस्य सवार थिए । विमान पराना राज्यको कास्केवेलबाट साओ पाउलोको अन्तर्राष्ट्रिय विमानस्थल जाँदै गरेको समाचार संस्था रोयटर्सले जनाएको छ ।
ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला डा सिल्भाले पीडित परिवारप्रति समवेदना व्यक्त गर्नु भएको छ । ‘फ्लाइट २२८३ मा सवार सबै ६१ जनाको दुर्घटनास्थलमै मृत्यु भएको जानकारी गराउनुपर्दा हामी दुःखी छौं । यो समय वोयपास पीडितका परिवारलाई सहायता गर्ने विषयलाई प्राथमिकतामा राख्छ । दुर्घटनाको कारण पत्ता लगाउन अधिकारीहरूलाई सहयोग गरिरहेका छौं ’ दुर्घटनापछि विमान कम्पनीले विज्ञप्तीमाल्ल्ख गरेको छ ।
त्यस्तै साओ पाउलो राज्यका गभर्नर टार्सिसियो गोम्स डे फ्रेटासले तीन दिनको शोकको घोषणा गर्नु भएको छ । विमान आवासीय क्षेत्रमा खसे पनि अन्य मानिसहरू नपरेको रोयटर्सले उल्लेख गरेको छ ।