नवकान्तिपुर संवाददाता
काठमाडौं, ३१ साउन ।
देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । मोरङ, विराटनगर महानगरपालिका-३ पिपलचोकस्थित सडकमा को.१ च ५१९१ नम्बरको कार र मधेस प्रदेश-०१-००४ प २७८४ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई बुधबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकल चालक बुढीगंगा गाउँपालिका-५ बस्ने ४० वर्षीय फेकुलाल सरदारको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको नोबेल अस्पताल बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । त्यस्तै सुनसरी, इटहरी उपमहानगरपालिका-१२ स्थित सडकमा बिराटनगरबाट इटहरीतर्फ जाँदै गरेको प्र.१-०१-००१ च ७६५५ नम्बरको कारको ठक्करबाट साइकलयात्री सोही उपमहानगरपालिका-१३ बस्ने ६५ वर्षीय राम प्रसाद घिमिरेको बुधबार बेलुकी मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको बिराट नर्सिङ होम बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।