नवकान्तिपुर संवाददाता
काठमाडौं, ३१ साउन ।
देशका विभिन्न स्थानबाट मृत अवस्थामा सात जना फेला परेका छन् । इलाम, सूर्योदय नगरपालिका-६ बस्ने ४९ वर्षीय देव कुमार दर्जी सोही ठाउँस्थित भिनाजुको घरमा बिहीबार मृत अवस्थामा फेला परेका छन् ।
त्यस्तै चितवन, भरतपुर महानगरपालिका-१२ राधाकृष्ण टोल बस्ने ४३ वर्षीय रबिन्द्र सिंह कुँवर आफ्नै घरमा बिहीबार मृत अवस्थामा फेला परेका छन् । यस्तै सप्तरी, राजबिराज नगरपालिका-१ स्थित पम्प नहरमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३५ वर्षीय पुरूष बिहीबार मृत अवस्थामा फेला परेका छन् ।
यता सोलुखुम्बु, माप्यदुधकोशी गाउँपालिका-१ जुभिङमा हाल नाम, थर, वतन नखुलेका करिब ६५ वर्षीय पुरूष बिहीबार मृत अवस्थामा फेला परेका छन् । उता अर्घाखाँची, भुमिकास्थान नगरपालिका-१० तल्लोपाकु बस्ने ४६ वर्षीया ज्ञानु चुदाली सोही ठाउँस्थित आफ्नै बारीमा बिहीबार मृत अवस्थामा फेला परेकी छिन् ।
बुधबार घाँस काट्न जान्छु भनी घरबाट गएकी उनी घर फर्की नआए पश्चात खोजी गर्ने क्रममा उनको शव फेला परेको हो । यसैगरी सप्तरी, शम्भुनाथ नगरपालिका-३ शम्भुनाथ मन्दिर जाने बाटोमा हाल नाम, थर, वतन नखुलेका करिब ५५ वर्षीय पुरूष बुधबार मृत अवस्थामा फेला परेका छन् ।
त्यसैगरी रूपन्देही, बुटवल उपमहानगरपालिका-१४ पदमपुर बस्ने बिजय सुनारको छोरा करिब ३ वर्षीय ओम बहादुर सुनार सोही उपमहानगरपालिका-१५ उपल्लो चम्किपुर कुलोमा बुधबार मृत अवस्थामा फेला परेका छन् । कुलोमा खेल्ने क्रममा हराएका उनको खोजी गर्ने क्रममा करिब २ किलोमिटर टाढा शव फेला परेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।