छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु

देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ । बैतडी, दोगडाकेदार गाउँपालिका-२ कफलकोटमा धनगढीबाट दोगडातर्फ जाँदै गरेको सु.प.प्र.०२-००१ क ०७३४ नम्बरको मिनि ट्रक अनियन्त्रित भई सडकबाट करिब ५० मिटर तल खसेर बिहीबार बेलुकी दुर्घटना हुँदा मिनि ट्रकमा सवार कञ्चनपुर शुक्लाफाँटा नगरपालिका-५ झलारी बस्ने ३० वर्षीय जगदिश अवस्थीको घटनास्थलमै मृत्यु भएको छ ।

साथै दुर्घटनामा घाइते भएका मिनि ट्रक चालक र सहचालकको माया मेट्रो अस्पताल धनगढी कैलालीमा उपचार भइरहेको छ । त्यस्तै सप्तरी, हनुमाननगर कंकालनी नगरपालिका-५ जोगनियास्थित सडकमा को.३० प ८१०९ नम्बरको मोटरसाइकललाई को.१ ख ४०४६ नम्बरको बसले बिहीबार बेलुकी ठक्कर दिदाँ मोटरसाइकल चालक सोही नगरपालिका-७ बस्ने २० वर्षीय धुरूप मण्डलको मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाइते भएका उनको गजेन्द्र नारायण सिहं अस्पताल राजबिराजमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यस्तै कास्की, पोखरा महानगरपालिका-८ सृजनाचोकमा सभागृहचोकबाट सृजनाचोकतर्फ जाँदै गरेको ग.२१ प ५४५० नम्बरको स्कुटर अनियन्त्रित भई शुक्रबार बिहान दुर्घटना हुँदा चालक पर्वत पैयू गाउँपालिका-७ बस्ने ३० वर्षीय सुसान गुरूङको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको मेट्रोसिटी अस्पताल पोखरामा उपचारको क्रममा मृत्यु भएको हो । उता कपिलवस्तु, शिवराज नगरपालिका-१ दोबाटोस्थित सडकमा ना.६ ख ४३७ नम्बरको ट्रक गएराति दुर्घटना हुँदा सहचालक रूपन्देही गैडहवा गाउँपालिका-५ बर्गदहवा
बस्ने २५ वर्षीय कल्लु यादवको मृत्यु भएको छ ।

दुर्घटनामा ट्रकले च्यापिएर गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल तौलिहवामा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका ट्रक चालकको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार