मृत अवस्थामा सात जना फेला

देशका विभिन्न स्थानबाट मृत अवस्थामा सात जना फेला परेका छन् । लम्जुङ, सुन्दरबजार नगरपालिका-९ फुलबारीस्थित मर्स्याङदी नदीको किनारमा बेशिसहर नगरपालिका-३ रानीकुवा बस्ने गोरखा पालुङटार नगरपालिका-७ घर भएका राम चन्द्र कुमालको छोरी १५ वर्षीया समिना तामाङ आइतबार मृत अवस्थामा फेला परेकी छिन् ।

त्यस्तै बर्दिया, बारबर्दिया नगरपालिका-२ कुमरागाउँस्थित खररोही नालामा सोही ठाउँ बस्ने ५० वर्षीय सिताराम थारू आइतबार मृत अवस्थामा फेला परेका छन् । यस्तै बारा, जितपुरसिमरा उपमहानगरपालिका-३ स्थित सडक छेउमा हाल नाम, थर, वतन नखुलेका करिब ३० वर्षीय पुरूष आइतबार मृत अवस्थामा फेला परेका छन् ।

उता झापा, बिर्तामोड नगरपालिका-५ स्थित कपुरी ब्रदर्स वर्कसप ग्यारेजको चेन्जिङ रूममा सोही ग्यारेजमै गार्डको काम गर्ने अर्जुनधारा नगरपालिका-२ खुदुनाबारी बस्ने ५७ वर्षीय शंखराज लिम्बु सोमबार मृत अवस्थामा फेला परेका छन् । यसैगरी झापा, मेचिनगर नगरपालिका-७ मदन बस्तीस्थित कृषि फर्म संचालन गरी बस्ने सोही नगरपालिका-६ काँकरभिट्टा घर भएका ५८ वर्षीय पुने प्रसाद सत्याल आफ्नै कृषि फर्मको
छेउमा रहेको नहरमा सोमबार मृत अवस्थामा फेला परेका छन् ।

यता प्युठान, ऐरावती गाउँपालिका-६ मडईस्थित बाटोमा कैलाली टिकापुर नगरपालिका-३ जोतिनगर घर भएका ३८ वर्षीय चन्द्र बहादुर सापकोटा सोमबार मृत अवस्थामा फेला परेका छन् । त्यसैगरी सिन्धुली, कमलामाई नगरपालिका-६ धुरा बजार डेरा गरी बस्ने ७० वर्षीय राम बहादुर मगर सोही ठाउँस्थित खुल्लामञ्चको खोला साइडमा सोमबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार