सवारी दुर्घटनामा सात जनाको मृत्यु

देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा सात जनाको मृत्यु भएको छ । बाँके, जानकी गाउँपालिका-६ कोठारपुरस्थित सडकमा दाङबाट नेपालगंजतर्फ जाँदै गरेको भे.१ ख २१२८ नम्बरको बस बिहीबार दिउँसो दुर्घटना हुँदा बसमा सवार ३ जनाको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका बसमा सवार दाङ घोराही उपमहानगरपालिका-३ बस्ने ३० वर्षीय बिमल राईको मेडिकल कलेज कोहलपुरमा र अन्य २ जना पुरूषको भेरी अस्पताल नेपालगंजमा उपचारको क्रममा मृत्यु भएको हो । साथै उक्त बसमा भे.१ ब ६७१ नम्बरको मोटरसाइकल समेत ठक्कर खाई दुर्घटना भएको छ ।

दुर्घटनामा घाइते भएका बसमा सवार २१ जनाको भेरी अस्पताल नेपालगंजमा र बसमा सवार ४ जना तथा मोटरसाइकल चालकको मेडिकल कलेज कोहलपुरमा उपचार भइरहेको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । त्यस्तै सुनसरी, धरान उपमहानगरपालिका-१७ स्थित सडकमा धरानबाट चतरातर्फ जाँदै गरेको प्रदेश १-०२-०५० प ५५९० नम्बरको मोटरसाइकल अनियन्त्रित भई बिहीबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकलमा सवार मोरङ लेटाङ नगरपालिका-७ बस्ने २१ वर्षीय यादव लिम्बुको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा धरानमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ । यस्तै दाङ, तुलसीपुर उपमहानगरपालिका-१२ टरिगैस्थित सडकमा जसपुरबाट तुलसीपुरतर्फ जाँदै गरेको रा.१ ह ४५१३ नम्बरको अटो अनियन्त्रित भई बुधबार बिहान दुर्घटना हुँदा अटोमा सवार दंगिशरण गाउँपालिका-२ बस्ने ८५ वर्षीय जिवराज बस्नेतको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको राप्ति प्रादेशिक अस्पताल तुलसीपुर हुँदै मेडिकल कलेज कोहलपुर बाँकेमा थप उपचारको क्रममा मृत्यु भएको हो । अटो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उता तेह्रथुम, लालिगुराँस नगरपालिका-१ लम्बु खोलास्थित सडकमा इटहरीबाट तेह्रथुम म्याङलुङतर्फ जादै गरेको को.१ ख १६८१ नम्बरको ट्रकले किचेर सोही ट्रकका सहचालक सुनसरी इटहरी उपमहानगरपालिका बस्ने ४५ वर्षीय रमानन्द चौधरीको बुधबार राति मृत्यु भएको छ ।

ट्रकको ब्रेक फेल भई ओत लगाउने क्रममा ट्रकले किच्दा उनको घटनास्थलमै मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यता काठमाडौं, चन्द्रागिरी नगरपालिका-१५ ढुङ्गेअड्डास्थित सडकमा कलंकीबाट थानकोटतर्फ जाँदै गरेको हाल नम्बर नखुलेको सवारी साधनले किचेर हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४० वर्षीय पुरूषको बुधबार राति मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको त्रिवि शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार सवारी साधनको प्रहरीले खोजी गरिरहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार