मुलुकमा स्थिरता कायम गर्न कांग्रेस–एमाले गठबन्धन भएको हो : प्रवक्ता महत

नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले मुलुकमा स्थिरता कायम गर्न संसद्का दुई ठूला दलबीच गठबन्धन भएको बताउनुभएको छ । सोमबार नेपाल प्रेस युनियन डडेल्धुराले जिल्ला सदरमुकाममा आयोजना गरेको पत्रकार सम्मेलनमा पूर्वअर्थमन्त्रीसमेत रहनुभएका उहाँले मुलुकलाई अस्थिरताबाट जोगाउन कांग्रेस–एमालेबीच सहकार्य भएको उल्लेख गर्नुभयो ।

“पछिल्लो समय पटक–पटक सत्ता परिवर्तन भए पनि विकासले गति लिन नसकेपछि संसद्का दुई ठूला दलबीच सहकार्य भएको हो । यसबाट मुलुकमा स्थिरता कायम हुनुका साथै जनतामा आशा उब्जिएको छ”, प्रवक्ता महतले भन्नुभयो, “अस्थिरताबाट देशलाई जोगाउन एमाले र कांग्रेस एक ठाउँमा उभिएका हुन् ।” उहाँले कांग्रेस–एमालेको गठबन्धन सरकारले मुलुकलाई स्थिरतातर्फ लैजाने दाबी गर्नुभयो ।

नयाँ सरकार गठन पछि विस्तारै मुलुकको आर्थिक गतिविधि चलयायमान हुँदै गएको प्रवक्त महतले बताउनुभयो । सरकारको न्यूनतम साझा कार्यक्रम यथाशीघ्र प्रकाशित गर्ने उहाँको भनाइ छ ।

पूर्वअर्थमन्त्री महतले वर्तमान सरकार जनताका सरोकारका विषयवस्तु र सुशासन प्रत्याभूत गराउनमा केन्द्रित हुनुपर्नेमा जोड दिनुभयो । उहाँले नेपाली कांग्रेसले २०८४ को निर्वाचनमा एक्लै बहुमत ल्याउने गरी सङ्गठन निर्माणमा लागेको उल्लेख गर्नुभयो ।

प्रवक्ता महतले एक सय ११औँ बिपी जयन्तीका अवसरमा डडेल्धुरामा आयोजित ‘मुलुकको समृद्धिमा युवाको भूमिका’ विषयक प्रशिक्षण कार्यक्रमको सोमबारै उद्घाटन गर्नुभएको छ । उक्त कार्यक्रममा उहाँले पश्चिम सेती र पञ्चेश्वर परियोजना निर्माण गर्न सरकार लागिपरेको उल्लेख गर्दै यी परियोजना निर्माणले सुदूरपश्चिममा रोजगारीका अवसर सिर्जना गर्ने बताउनुभयो ।

सम्बन्धित समाचार