संसद्को मर्यादा र गरिमालाई कायम राख्न उपसभामुख रानाले राजीनामा दिइ मार्गप्रशस्त गर्नुपर्छ : पदम गिरी

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सांसद पदम गिरीले संसद्को मर्यादा र गरिमालाई कायम राख्न उपसभामुख इन्दिरा रानाले राजीनामा दिइ मार्गप्रशस्त गर्नुपर्ने विचार व्यक्त गर्नुभएको छ । प्रतिनिधिसभाको मंगलबारको बैठकको विशेष समयमा उहाँले संसद्को गरिमामय व्यक्ति उपसभामुखले लिने निर्णय र गरिने व्यवहार संसद्को गरिमासँग जोडिने बताउनुभयो ।

“उपसभामुखले सम्मानित संसद्को मर्यादा र गरिमालाई कायम राख्नुभएन । संसद्मा विषय उठेको लामो समयसम्म पनि बेवास्ता गर्नुभएको छ”, उहाँले भन्नुभयो, “संसद्को गरिमालाई बचाउनका निम्ति राजीनामा दिएर मार्गप्रशस्त गर्न राम्रो हुन्छ । व्यक्तिप्रति कुनै आग्रह पूर्वाग्रह छैन । तर, संसद्को गरिमामय व्यक्ति उपसभामुखले लिने निर्णय र व्यवहार संसद्को गरिमासँग जोडिन्छ ।”

उपसभामुख रानाले अमेरिकामा आयोजित एक कार्यक्रममा सहभागी हुन संसद्भन्दा बाहिरका व्यक्तिका नाममा दूतावासलाई सिफारिस पत्रलेखेर संसद्को गरिमामाथि आचर पुर्याएको दाबी गर्नुभयो ।

त्यस्तै सांसद गिरीले राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ठूलो सङ्कटबाट गुज्रिको भन्दै यसलाई सुधार गर्न सम्बन्धित मन्त्रालयले ध्यान दिनुपर्ने खाँचो औँल्याउनुभयो । कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट ऋण लिएर खरिद गरिएका विमान सञ्चालन प्रभावकारी नहुँदा ऋणको ब्याज र किस्ता तिर्न कठिनाइ भइरहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “निगमको वाइड बडी विमान विगत ८० दिनदेखि ‘सिचेक’का लागि इटालीमा रहेको र अर्को वाइड बडी विमान पनि इटालीमै रहेको भन्दै अन्तर्राष्ट्रिय उडान विस्तारको व्यावसायिक योजना नल्याउने जिम्मेवार पदाधिकारीलाई जवाफदेही बनाउन जरुरी छ ।”

सम्बन्धित समाचार