प्रतिनिधिसभामा उपसभामुखको अपमान भयो : देवेन्द्र पौडेल

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का सांसद देवेन्द्र पौडेलले प्रतिनिधिसभाका उपसभामुखमाथि राजीनामाको विषय उठाएर उहाँलाई अपमान गर्न खोजिएको बताउनुभएको छ ।

प्रतिनिधिसभाको मंगलबारको बैठकको विशेष समयमा उहाँले सामाजिक सेवामा काम गरेको सभामुखलाई शक्तिशाली सरकारले हटाउने विषय लोकतन्त्र सम्मत हुँदैन भन्नुभयो । “एक सामाजिक अभियन्ता तथा जनजाति महिला उपसभामुखमाथि राजीनामाका लागि गरिएको व्यवहार लोकतान्त्रिक संस्कार पनि होइन । शक्ति पृथकीकरणको सिद्धान्तअनुरुप पनि छैन”, उहाँले भन्नुभयो ।

“उपसभामुखको राजीनामाको विषय मिडियामा आएको थियो तर संसद्मा प्रवेश गरिसकेपछि हावा मात्रै हैन अभियान नै चलेको रहेछ,” सांसद पौडेलले भन्नुभयो, “समाजिक सेवामा काम गरेको व्यक्तिलाई हटाउने कुरा दुःखदायी भएको र यसले लोकतन्त्रलाई सुदृढ गर्दैन ।”

सांसद पौडेलले ठूला अनियमितता र भ्रष्टाचारमा मुछिएकालाई कानुनी दायरामा ल्याउन माग गर्नुभयो । विपद्जन्य घटनाबाट पीडितलाई राहत र क्षतिपूर्तिको व्यवस्था गर्न सरकार गम्भीरतापूर्वक लाग्नुपर्नेमा जोड दिनुभयो ।

सम्बन्धित समाचार