नागरिकमैत्री सेवा प्रवाह वर्तमान सरकारको पहिलो प्रथमिकतामा : मन्त्री खड्का

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नागरिकमैत्री सेवा प्रवाह वर्तमान सरकारको पहिलो प्रथमिकतामा रहेको बताउनुभएको छ ।

नेपाली कांग्रेस सुनसरी क्षेत्र नं १ ले बुधबार धरानमा आयोजना गरेको ‘भेटघाट तथा अन्तक्र्रिया’ कार्यक्रममा उहाँले दुई ठूला राजनीतिक दल मिलेर बनेको वर्तमान सरकारले मुलुकमा विद्यमान समस्या समाधान गरी नागरिकमैत्री सेवा प्रवाहमा जोड दिएको बताउनुभयो ।

मन्त्री खड्काले संसद्का दुई ठूला दल मिलेर बनेको वर्तमान गठबन्धनले जनतामा आशा जगाउने काम गरेको भन्दै स्थिर सरकारका माध्यमबाट विकास, निर्माणमा उल्लेख्य उपलब्धि हासिल गर्न सकिने धारणा राख्नुभयो ।

“विगतमा छिटोछिटो सरकार परिवर्तन हुँदा विकास निर्माणले गति लिन सकेको थिएन, अहिलेको गठबन्धन आगामी निर्वाचनसम्म जान्छ, हरेक व्यक्तिले आफ्नो दायित्व निर्वाह गररे देश विकासमा सहयोग पुर्याउनु आवश्यक छ”, उहाँले भन्नुभयो ।

मन्त्री खड्काले संविधानलाई समयसापेक्ष परिवर्तन गर्दै लैजान सकिने बताउनुभयो । “देश विकास, स्वदेशमा रोजगारी सिर्जना, स्वास्थ्य सेवालगायत जनतालाई कसरी सहज सेवा प्रवाह गर्न सकिन्छ त्यसतर्फ सरकार लागिरहेको छ”, उहाँले भन्नुभयो । सीमित स्रोतसाधनका बीच सरकारले विकास निर्माणलाई अगाडि बढाएको उहाँको भनाइ छ ।

ऊर्जामन्त्री खड्काले पूरा हुन नसकेका जलविद्युत् आयोजनालाई अगाडि बढाउन सरकारले योजनाबद्ध रुपमा काम गरिरहेको बताउनुभयो । “कर्णाली चिसापानी, अपर अरुण, पञ्चेश्वर, बुढीगण्डकी, तमोरजस्ता आयोजनालाई अगाडि बढाउन सकिए ऊर्जा र सिँचाइमार्फत देश समृद्ध बनाउन सकिन्छ, त्यसमा सरकारले योजनाबद्ध काम गरिरहेको”, उहाँले भन्नुभयो ।

उहाँले देशमा भएका स्रोतसाधनको अधिकतम प्रयोग गर्दै समृद्ध मुलुक निर्माणमा सरकार अगाडि बढेको उल्लेख गर्नुभयो । आगामी एक वर्षभित्र देशैभरी विद्युतीकरण भइसक्ने उहाँको भनाइ छ ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य राजीव कोइरालाले स्थानीयस्तरमा देखिएका ऊर्जासम्बन्धी समस्या समाधान गर्नुपर्नेमा जोड दिनुभयो । कांग्रेस कोशी प्रदेशका महामन्त्री उमेश थापा, नेपाली कांग्रेस सुनसरीका सभापति एवं इनरुवा नगरपालिकाका प्रमुख केदार भण्डारी, सुनसरी उद्योग वाणिज्य सङ्घका अध्यक्ष विजय श्रेष्ठलगायतले धरान र आसपासबाट बग्ने नदी, खोला तथा खहरेको तटबन्धन गर्नुपर्ने, हाइटेन्सन लाइन व्यवस्थापन गर्नुपर्ने, सडकबत्तीको महसुल घटाउनुपर्नेलगायत माग उर्जामन्त्री समक्ष राख्नुभएको थियो ।

सम्बन्धित समाचार