नवकान्तिपुर संवाददाता
काठमाडौं, २७ भदौ ।
प्रधानमन्त्री केपी शर्मा ओलीसँग चालु आर्थिक वर्षमा गरिने मुख्य काम र हासिल हुने उपलब्धिका लागि उपप्रधानमन्त्रीद्वय र मन्त्रीहरुले बिहीबार कार्यसम्पादन सम्झौता गर्नुभएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आयोजित कार्यक्रममा उक्त सम्झौतामा हस्ताक्षर र सम्झौताप्रति आदानप्रदान गरिएको छ । यसैगरी प्रधानमन्त्री र नेपाल सरकारका मुख्यसचिवबीच कार्यसम्पादन सम्झौता भएको छ ।
‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न, प्रारम्भ गरिएका पूर्वाधार निर्माण तथा सेवा प्रवाहमा सुधार गर्न कार्यसम्पादन सम्झौता गरिएको हो ।
अनुसूचीसहित विभिन्न खण्डमा विभाजित कार्यसम्पादन सम्झौतामा सरकार गठन भएको पहिलो सय दिन (२०८१ कात्तिक ६ गते) सम्म गरिने प्रमुख कार्य र हासिल हुने उपलब्धि, दोस्रो सय दिन (२०८१ माघ १७) सम्म गरिने प्रमुख कार्य र हासिल हुने उपलब्धि, आर्थिक वर्ष २०८१/०८२ को बाँकी अवधिमा गर्नुपर्ने काम र हासिल हुने उपलब्धिका विषय समावेश छन् ।
प्रधानमन्त्रीसँग मन्त्रीहरुले कार्यसम्पादन सम्झौता गरेपछि सम्बन्धित मन्त्रालयका सचिवहरुसँग कार्यसम्पादन सम्झौता गर्ने योजना छ । लक्षित उपलब्धि समयमा हासिल गर्न र सेवा प्रवाहमा चुस्तता ल्याउन तथा अनुगमन र मूल्याङ्कन गर्न यस प्रकारको सम्झौता पद्धति प्रधानमन्त्री ओलीको विगतको कार्यकालमा आरम्भ भएको थियो ।
बिहीबार अनुपस्थित संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री, वन तथा वातावरण र कानुन, न्याय तथा संसदीय मामिलामन्त्रीसँगको कार्यसम्पादन सम्झौतामा पछि सम्पन्न हुने जनाइएको छ ।
समन्वयसहित रचनात्मक ढङ्गले काम गर्न मन्त्रीहरुलाई प्रधानमन्त्रीको निर्देशन
प्रधानमन्त्री केपी शर्मा ओलीले तोकिएको लक्ष्य हासिल गर्ने कामलाई समन्वयसहित रचनात्मक ढङ्गले पूरा गर्न मन्त्रीहरुलाई निर्देशन दिनुभएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बिहीबार आयोजित कार्यसम्पादन सम्झौता कार्यक्रममा प्रधानमन्त्री ओलीले के गर्ने, के हासिल गर्ने भन्ने थाहा नभइकन कार्यालय आउने र जाने प्रथालाई अन्त्य गर्दै विगतमा आफू प्रधानमन्त्री हुँदा यस प्रकारको पद्धति बसालेको बताउनुभयो ।
“हामी टिम स्पिरिटमा काम गर्छाैँ, एकअर्कालाई सहयोग गछौँ । लोकतन्त्रका र जनताका हित गर्दै सुशासन र सुरक्षा कायम गर्न प्रतिबद्ध छौँ भन्ने यी सम्झौतामा समावेश गरिएका छन् । हामीले यस बमोजिम थप दृढताका साथ काम गर्नुपर्ने छ”, प्रधानमन्त्री ओलीले भन्नुभयो । उहाँले पूर्वमन्त्रीहरुका अनुभवबाट काम सिक्ने र सम्झौतामा नभएका तर देशका लागि गर्नुपर्ने काम गर्न मन्त्रीहरुलाइ आग्रह गर्नुभयो ।