सरकारले डेडिकेटर लाइनको पैसा असुल गर्नेछ : मन्त्री खड्का

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सरकारले डेडिकेटर लाइनको पैसा असुल गर्ने बताउनुभएको छ । चितवनमा पत्रकारसँग कुरा गर्दै उहाँले यस्ती बताउनु भएको हो ।

उहाँले भन्नुभयो, “लाइन काटेर समस्याको समाधान हुँदैन । पैसा असुल गर्ने कानुनी बाटाहरु छन् । कानुनमा व्यवस्था गरिएअनुसार रकम असुल गर्नेछौँ ।” व्यवसायीले विद्युत् प्रयोग गरेबापत राज्यलाई महसुल बुझाउनुपर्नेमा जोड दिँदे उहाँले अहिले देखिएको विवाद चाँडै टुङ्गो लाग्ने उल्लेख गर्नुभयो ।

त्यस्तै मन्त्री खड्काले आगामी एक वर्षभित्र सबै जनताको घरमा विद्युतीकरण पुग्ने गरी काम अघि बढाइएको बताउनुभएको छ । उहाँले विद्युत्को आन्तरिक खपत बढाउन सबै जनताको घरमा विद्युत् सेवा पुर्‍याउन लागिएको उल्लेख गर्नुभयो ।

नेपालमा सञ्चालित व्यवसायमध्ये सबैभन्दा बढी आयआर्जन गर्ने विद्युत्सम्बन्धी व्यवसाय भएका भन्दै मन्त्री खड्काले यसको आन्तरिक खपत बढाउन सरकार लागेको बताउनुभयो । उहाँले भन्नुभयो, “निर्माणको समय भएकाले कहिलेकाही समस्या देखिने गरेको छ । यसको समाधान गर्दै आन्तरिक खपत बढाउन सरकार प्रयासरत छ ।”

विद्युत्को उपभोग बढी भन्दाबढी कसरी गर्ने भन्ने विषय सरकार केन्द्रित रहेको उहाँको भनाइ छ । हिउँदमा विद्युत् उत्पादन कम हुँदा कहिलेकाही समस्या आउने गरेको मन्त्री खड्काले बताउनुभयो ।

सम्बन्धित समाचार