नारायणगढ–बुटवल सडक खण्ड समयमै निर्माण गर्न महामन्त्री थापाको आग्रह

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नारायणगढ–बुटवल सडक खण्ड तथा हुलाकी राजमार्ग समयमै निर्माण गर्न सरकारसँग आग्रह गर्नुभएको छ ।

आमरण अनशनमा बस्नुभएका पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकाका अध्यक्ष उमेशचन्द्र यादवसँगको भेटपछि महामन्त्री थापाले उक्त सड्क खण्ड समयमै निर्माण सम्पन्न गर्न सरकारको ध्यानाकर्षण गर्नुभएको हो । उहाँले भन्नुभयो, “नारायणगढ–बुटवल र हुलाकी राजमार्गमा यात्रा गर्न निकै सकस छ । यसतर्फ सरकारको ध्यान जाओस ।”

गाउँपालिकाका अध्यक्ष यादवको मागलाई सरकारले तत्काल सम्बोधन गरी हुलाकी राजमार्ग निर्माणमा संलग्न निर्माण व्यवसायीलाई तत्काल काम सुरु गर्न दबाब दिनुपर्ने महामन्त्री थापाको भनाइ थियो ।

सो अवसरुमा गाउँपालिकाका अध्यक्ष यादवले जनताले हुलाकी राजमार्गमा यात्रा गर्दा सस्ती खेप्नुपरेको उल्लेख गर्दै समयमै सडक निर्माण सम्पन्न गर्न पहल नहुँदा अनशनमा बस्नुपरेको बताउनुभयो ।

उक्त हुलाकी राजमार्ग तीन खण्डमा निर्माण हुँदैछ । परासी–नारायणचोक खण्ड, नारायण चोक–त्रिवेणी खण्ड र बेलाटारी खण्ड गरी हुलाकी राजमार्ग निर्माण हुँदैछ । नारायण चोक–त्रिवेणी खण्डको साढे ६ किलोमिटर हुलाकी राजमार्ग प्रतापपुर गाउँपालिकाभित्र पर्दछ । उक्त राजमार्ग सरदमुकाम जोड्ने मुख्य सड्क हो ।

नारायण चोकदेखि त्रिवेणीसम्मको १५ किलोमिटर हुलाकी राजमार्ग निर्माणका लागि बज्रगुरु–महालक्ष्मी जेभी कपुन्डोल कम्पनीले २०७६ मङ्सिरमा रु ४९ करोड ६० लाखमा ठेक्का लिएको हो । हालसम्म उक्त सड्कमा ग्राभेल मात्रै हाल्ने काम भएको छ । धैरे ठाउँमा ठूल–ठूला खल्डाखुल्डी भई वर्षाको पानी सड्कमै जमेको अवस्था छ ।

सम्बन्धित समाचार