सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ । बझाङ, दुर्गाथली गाउँपालिका-२ झर्नास्थित सडकमा मौरीबगरबाट झननातर्फ जाँदै गरेको सु.प.प्र.०१००२ त ५१७८ नम्बरको ट्याक्टर अनियन्त्रित भई सडकबाट करिब ५० मिटर तल सेती नदीमा खसेर बुधबार बिहान दुर्घटना हुँदा चालक जाजरकोट भेरी नगरपालिका-२ बस्ने २० वर्षीय संजय बुढाको मृत्यु भएको छ ।

साथै दुर्घटनामा घाइते भएका ट्याक्टरमा सवार अन्य तीन जनालाई भैरवनाथ स्वास्थ्य चौकी झोता हुँदै थप उपचारको लागि जिल्ला अस्पताल बझाङ पठाइएको छ । हाल बेपत्ता भएका ट्याक्टरमा सवार एक जनाको प्रहरीले खोजी गरिरहेको छ ।

त्यस्तै कैलाली, गोदावरी नगरपालिका-५ बिजौरास्थित सडकमा सु.प.प्र.०१-००१ च ४०४६ नम्बरको जिप र सु.प. प्र ०१-०१२ प ५६३४ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई बुधबार बिहान दुर्घटना हुँदा मोटरसाइकल चालक गोदावरी नगरपालिका-६ बस्ने २६ वर्षीय सुनिल डगौराको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको मायामेट्रो अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । जिप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यस्तै संखुवासभा, मकालु गाउँपालिका-३ खाँदबारी किमाथांका सडकखण्डस्थित समटार भन्ने स्थानमा बरूणबाट खाँदबारीतर्फ जाँदै गरेको प्रदेश १-०२-००३ त १४३७ नम्बरको ट्याक्टर गए राति दुर्घटना हुँदा चालक खाँदबारी नगरपालिका-८ बिष्णेधारा बस्ने १९ वर्षीय किरण श्रेष्ठ र सचालक सोही ठाउँ बस्ने १७ वर्षीय उदित श्रेष्ठको घटनास्थलमै मृत्यु भएको छ ।

यता कास्की, पोखरा महानगरपालिका-२७ रिठेपानीस्थित सडकमा ग.१ त ३३८४ नम्बरको ट्याक्टरले किचेर सोही ठाउँ बस्ने ९ वर्षीय बिपिन विकको मंगलबार दिउँसो मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको पश्चिम क्षेत्रिय अस्पतालमा उपचारको क्रममा मृत्यु
भएको छ । प्रहरीले ट्याक्टर चालकलाई नियन्त्रणमा लिई दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार