पेट्रोल, डिजेल, हवाई इन्धन र मट्टितेलको मूल्य घट्यो, कति पुग्यो लिटरको ?

चाडपर्व नजिकिएसँगै इन्धनको मूल्य घटेको छ । नेपाल आयल निगमका अनुसार पेट्रोल, डिजेल, हवाई इन्धन र मट्टीतेलको मूल्य घटाइएको हो ।

सोमबार राति १२ बजेबाट लागु हुने गरी निगमले पेट्रोलमा रु एक, डिजेलमा रु दुई, हवाई इन्धनमा आन्तरिकमा रु छ तथा बाह्यमा प्रतिहजार लिटरमा रु ४५, मट्टीतेलमा रु दुई घटाइएको जनाएको छ । एलपी ग्याँसको मूल्य भारतबाट नेपाली रु ४१ बढेर आएकामा चाडपर्वलाई लक्षित गरी यथावत राखिएको निगमले जनाएको छ ।

इन्धनको मूल्य घटेसँगै चाडबाडको मुखमा उपभोक्ताले राहत महसुस गर्ने विश्वास गरिएको छ । साथै आयल निगमले पर्वका बेला इनधन आपूर्तिमा कुनै समस्या नहुने जनाएको छ ।

मूल्य घटेसँगै पहिलो वर्गअन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगन्ज, धनगढी र वीरगन्जमा पेट्रोलको मूल्य प्रतिलिटर १५५.५० रुपैयाँ र डिजेलको मूल्य १४४.५० रुपैयाँ कायम भएको निगमले जनाएको छ ।

यस्तै दोस्रो वर्गअन्तर्गत सुर्खेत र दाङमा पेट्रोलको मूल्य प्रतिलिटर १५७ र डिजेलको मूल्य १४६ रुपैयाँ कायम भएको छ । निगमका अनुसार तेस्रो वर्गअन्तर्गत काठमाडौँ, पोखरा र दिपायलमा पेट्रोलको मूल्य प्रतिलिटर १५८ र डिजेलको मूल्य १४७ रुपैयाँ कायम भएको छ ।

सम्बन्धित समाचार