प्रकृतिपूजाको परम्परागत अभ्यास पुनःस्थापना आवश्यक

नेपाल विश्व जलवायु परिवर्तनको सर्वाधिक प्रभावित मुलुकमध्ये प्रमुख स्थानमा पर्दछ । यसको प्रत्यक्ष असर हिमालदेखि तराईसम्म परेको छ । पछिल्लो समय २०८१ असोज ११ र १२ गते परेको अविरल वर्षापछि देशमा जस्तो वितण्डा मच्चियो यसमा मानवीय कमजोरी, लापरवाही र सचेतताको जति अभाव देखियो त्योभन्दा बढी कारण जलवायु परिवर्तनको पनि छ ।

शरद ऋतु आरम्भ भएर देश दशैंको घमाइलो वातावरणमा रमाइरहेका बेला कोलाहल मच्चिने विपदको सामना गर्नुपर्दा जो कोहीका लागि सहज छैन । दुई दिनको वर्षाले असोज १५ गते मंगलबार विहान यो सामग्री तयार पार्दासम्म दुई सय १७ जनाको मृत्यु, २८ जनाा वेपत्ता छन् भने २० राजमार्ग अबरुद्ध भएको छ । भौतिक क्षतिको विवरण आउन अझै बाँकी छ ।

दुःखको यो घडीमा कसैलाई दोष दिनु आफैंमा न्यायोचित हुँदैन । सरकारले के गर्यो, के गर्नुपथ्र्यो त्यो तपसिलको विषय भैसक्यो र वितेका कुरालाई कोट्याएर मात्रै समस्या समाधान हुँदैन । अब भावी दिनमा यस्ता विपदका समयमा कसरी जनधन क्षति न्यून गर्ने भन्ने उपाय अपनाउनु एकमात्र विकल्प हो ।

अहिले जसरी विपदका घटना बढिरहेका छन् यसको प्रमुख कारण प्रकृतमाथिको कुरुप दोहन हो । आज प्रकृति जस्तो स्वरूप र अवस्थामा रहनुपर्ने हो, त्यस्तो अवस्थामा छैन । मानवले कल्पनै नगरेका अनेक विपत्तिका घटना बढिरहेका छन् । प्रकृतिलाई आफ्नो स्वरूपमा रहन नदिएकै कारण ऋतु परिवर्तनको सिद्धान्त नै गडबडिएको छ । बुढापाकाले देखेको समय र अहिले धेरै अन्तर छ । गर्मीमा अत्यधिक गर्मी, जाडोमा अत्यधिक जाडो, वर्षामा अतिवृष्टि, हिउँदमा सुक्खा जस्ता कारणले जनजीवनदेखि प्राकृतिक संरचनालाई समेत गम्भीर असर परिरहेको छ ।

जलवायु परिर्वतनमा कुनै भूमिका नरहेको तर अत्यधिक मारमा परेको नेपालमा पनि मनसुन सुरु भएसँगै बाढी, पहिरो र डुबानका घटना बढिरहेका छन् । यो क्रम अरू बढ्दै छ । राजमार्गहरू पहिरोले छिया छिया भएका छन्, यातायात अवरुद्ध छ । जोखिमपूर्ण यात्रा गर्नु बाध्यता बनेको छ । हरेक वर्ष जसो नेपालमा विपत्का घटना बढ्दै छ । केही दशकअघिसम्म यस्तो अवस्था थिएन । अहिले किन यस्तो भयो रु प्रश्न जति सहज छ उत्तर पनि उत्तिकै सहज छ । विगतको अनुशासित प्राकृतिक स्रोतसाधनको उपयोग र प्रकृतिलाई देवता मानेर पुज्ने संस्कृति मासिएर भौतिकतामा रमाउनुको परिणाम पनि एक हो ।

जलवायु परिवर्तन हुनुमा जुन मुलुकको दोष नै छैन र जुन मुलुकले वातावरणीय सन्तुलनमा ठुलो योगदान दिइरहेका छन्, तिनै राष्ट्र बढी पीडित हुनु भनेको एउटा अनौठो पक्ष हो । नेपाल जस्ता हिमाली राष्ट्र जलवायु परिवर्तनको प्रत्यक्ष मारमा परिसकेका छन् । यहाँका पानीका स्रोत सुक्दै छन् भने प्राकृतिक स्रोतसाधन पनि लोप हुँदै छन् । कतिपय जडीबुटी हराइसकेका छन् भने मौसम अनुसारका अन्नबाली तथा फलफूल पनि फल्न–पाक्न छोडेका छन् । खेती गर्नुपर्ने समयमा पानी नपर्ने र खेती भित्र्याउने समयमा घनघोर वर्षा हुने गरेको छ । यसले खाद्यान्न उत्पादनमा गम्भीर असर परेको छ । यसको प्रत्यक्ष असर निम्न आय भएका गरिब र दुर्गम भेगमा बस्ने बासिन्दामा पर्छ ।

धनी र औद्योगिक राष्ट्रहरूले गरेको दोषको परिणाम गरिब मुलुकका गरिब जनताले भोग्नु परिरहेको छ । विशेष गरेर हिमालय र समुद्र किनारका मुलुकको भविष्य जलवायु परिवर्तनकै कारण जोखिममा पर्न थालेको छ । यसको सर्वाधिक मार दक्षिण एसियाले भोग्नुपर्ने विज्ञहरूले घोषणा गरिसकेका छन् । अहिलेको अवस्थाममा सुधार नहुने हो भने दक्षिण एसियाका सवा अर्ब मानिस भोकमरीको सिकार हुने बताउन थालिएको छ ।

 

दक्षिण एसिया हिमालयदेखि समुद्रसम्म फैलिएको जैविक विविधताको धनी क्षेत्र भएका नाताले यो क्षेत्रका बासिन्दाको प्रकृतिसँग गहिरो सम्बन्ध छ । प्रकृतिलाई नै भगवान्का रूपमा पूजा गर्ने यो क्षेत्र यतिबेला जलवायु परिवर्तनको गम्भीर दुष्चक्रमा फस्दै छ । दक्षिण एसियामा जलवायु परिवर्तनको सर्वाधिक डरलाग्दो अवस्था हिमताल फुट्ने र यसले समथर भूभागलाई जलमग्न गराउने खतरा बढिरहेको छ ।

यादब देवकोटा

विश्वमा जैविक विविधताको सवालमा नेपाल अग्रणी मुलुक हो । जलवायु परिवर्तनका कारण यहाँको सम्पदा मासिँदै जान थालेको छ तर हाम्रा अभियान कर्मकाण्ड पूरा गर्नमै सीमित छ । हिमालमा परेको असर, पहाडमा परेको असर, तराईमा परेको असर, कृषि, रोजगारी, पर्यटन, स्वास्थ्य, शिक्षा र जनताको दैनिकीमा परेको असर एकमुष्ठ तथ्याङ्क सङ्कलन गरेर यसका क्षतिपूर्ति लिने र प्रभावित भएकाको उद्धारमा खर्च गर्ने काम नै हुन सकेको छैन । वनजङ्गल संरक्षाणवापत पाउने केही अर्ब रुपियाँमै चित्त बुझाइएको छ ।

जलवायु परिवर्तनका कारण हिमाल पग्लँदै छ । यसको असर पर्यटन व्यवसायमा पर्छ । हिमनदी फुट्ने सम्भावना बढिरहेको छ । यसबाट बाढी र डुबानको समस्या टार्नै सकिन्न । बहुमूल्य जडीबुटी र जीवजन्तु लोप हुने अवस्थामा छन् । यसले यहाँको जैविक विविधता नै नष्ट हुने छ । यसको प्रत्यक्ष असर मानव समाजलाई नै पर्ने हो । नदीहरूमा कुबेलामा बाढी आउने, मौसम अनुसारको वर्षा नहुने गर्दा खाद्यान्न उत्पादनमा ह्रास आउने र भोकमरी बढ्ने अवस्था छ । विगत केही वर्षयताको तथ्याङ्कलाई हेर्ने हो भने नेपालमा खाद्यान्न उत्पादन घटिरहेको छ । कृषिचक्र बदलिएको छ ।

हिमाली तथा पहाडी जिल्लामा लगाइएको स्याउ खेतीमा जलवायु परिवर्तनको ग्रहण लागेको छ । सीमित मात्रामा उत्पादन हुने खाद्यान्न पनि हुन छाडेको छ । हिउँ पर्नुपर्ने समयमा नपरेपछि ती क्षेत्रको खाद्यान्न उत्पादन पूरै घटेको छ । यसको क्षतिपूर्ति पाउने गरी दह्रो अभियान मुलुकका लागि आवश्यक भइसकेको छ । जलवायु परिवर्तनले असर गर्ने क्षेत्र एउटा मात्र होइन अनगन्ती छन् । यसले शिक्षा, स्वास्थ्य, पर्यटनलगायत अनेक क्षेत्रमा नकारात्मक प्रभाव पार्छ ।

नेपालले गर्दै नगरेको दोष भागीदार किन बन्ने रु मूल प्रश्न यही हो । हामी अरूले गरेको गल्तीको सिकार बन्नुपर्ने विडम्बनापूर्ण स्थितिबाट मुक्त हुनु पर्छ । उनीहरूका कारण सिर्जना भइरहेको समस्याको क्षतिपूर्ति उनीहरूबाट पाउनु पर्छ । मनसुनमा वर्षा नहुँदा धान उत्पादनमा पुगेको क्षतिपूर्ति गराएर खाद्यान्न उत्पादनका लागि वैकल्पिक सिँचाइको व्यवस्था गर्ने योजना तयार हुनु पर्छ । खानेपानीका स्रोत र मुहानमा परेको असरको पनि क्षतिपूर्ति लिनु पर्छ । यसका लागि राष्ट्रिय सोचका साथ दृढतापूर्वक आफ्ना समस्या राख्न सक्नु पर्छ ।

जलवायु परिवर्तनले स्वास्थ्य र रोजगारीको क्षेत्रमा समेत प्रभाव पारेको छ । खेती किसानी गर्न चाहनेलाई निरुत्साहित बनाएको छ । यसै त बेरोजगारीको भयावह स्थिति भोगिरहेको बेला जलवायु परिवर्तनले कृषि व्यवसाय नै चौपट हुने अवस्था सिर्जना भएको छ । पशुपालन र फलफूल खेतीको दारुण चित्र बिस्तारै सार्वजनिक भइरहेका छन् । हिमाली क्षेत्रमा लगाइने फलफूल खेती नष्ट हुन थालेका छन् । यसको क्षतिपूर्ति कसले गर्ने ?

प्राकृतिक प्रकोप प्रकृृतिले मानवलाई दुःख दिन आफैँ सिर्जना गरेको होइन । यो सबै मानव आफैँले सिर्जना गरेको समस्या हो । मानव स्वयम्ले गरेका वातावरणीय र प्राकृतिक विनाशको परिणाम हो । भौगर्भिक अध्ययनबिनाका निर्माणले राजमार्गमा हिउँद–वर्षा दुवै याममा पहिरो खस्न थालेका छन् । विकास निर्माणको नाममा भूमिको अवस्थासमेत नहेर्दा धनजनको क्षति हुन पुगेको छ ।

यस्ता घटना बढ्न नदिन निर्माणमा बहुपक्षीय अध्ययन गरेर मात्रै काम गर्नु आवश्यक छ । किनभने प्रकृति ईश्वर हो र ईश्वरले आफ्ना सबै स्रोत मानवहितमा समर्पित गरेको हुन्छ तर त्यसको उपयोगमा अनुशासन कायम गरिएन भने प्रकृति कुपित हुन्छिन् र वितण्डा मच्चिन थाल्छ । यसै तथ्यलाई मनन गरी वातावरण संरक्षणका लागि आधुनिकदेखि हाम्रा परम्परागत मूल्य मान्यतालाई पुनः अभ्यासमा ल्याउनु पर्छ । अनि मात्र भावी पुस्तालाई सुरक्षित भविष्य हस्तान्तरण गर्न सकिन्छ ।

खोला, नदी किनार अतिक्रमण हुन नदिने, त्यहाँ बसेका भूमिहीनहरुलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने, पहाडहरुमा अन्धाधुन्द डोजर नचलाउने, राजनीतिक स्वार्थका लागि प्राकृतिक सम्पदाहरुको कुरुप दोहन नगर्ने, वातावरण शुद्ध राख्ने र संरक्षण गर्ने अभ्यासहरुलाई गाउँगाउँमा पुनःस्थापित गर्ने जस्ता कार्यहरुलाई अघि बढाउन सके हामीले यस्ता क्षति कम गर्न सक्छौं । किनभने नेपाल प्रकृतिलाई ईश्वर मानेर पूजा गर्ने देश हो । नेपाली समाजमा वन, नदीदेखि चराचुरुंगी, पशुलाई समेत ईश्वरको अंश मानेर पूजा गर्ने गरिन्छ । यसको शास्त्रीय मान्यता वातावरण संरक्षण गर्दै मानव सभ्यताको संरक्षण हो । अब त्यही अभ्यासलाई पुनःस्थापित गर्नु नितान्त जरुरी छ ।

(लेखक युगसम्बादका कार्यकारी सम्पादक हुनुहुन्छ)



सम्बन्धित समाचार