नवकान्तिपुर संवाददाता
काठमाडौं, २३ असोज ।
देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । लमजुङ, मध्यनेपाल नगरपालिका-४ बगैंचास्थित सडकमा ग.१ त ६३५५ नम्बरको ट्याक्टरको ठक्करबाट पैदलयात्री सोही नगरपालिका-४ वाग्लेफाँट बस्ने ३५ वर्षीया सुकमाया दुराको मंगलबार दिउँसो मृत्यु भएको छ ।
ठक्करबाट गम्भीर घाइते भएकी उनको गण्डकी मेडिकल कलेज पोखरामा उपचारको क्रममा मृत्यु भएको हो । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । त्यस्तै रामेछाप, खाँडादेवी गाउँपालिका-३ भिरपानीस्थित सडकमा काठमाडौंबाट सिन्धुलीतर्फ जाँदै गरेको प्र.३ ०१-००५ ख ९५७९ नम्बरको बस मंगलबार दिउँसो दुर्घटना हुँदा बसमा सवार सिन्धुली सुनकोशी गाउँपालिका-६ खहरेखोला बस्ने १७ वर्षीया युनिसा श्रेष्ठको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएकी उनको उपचारको लागि अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका बसमा सवार अन्य १३ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यस्तै पर्सा, वीरगंज महानगरपालिका-१८ मनियारीस्थित सडकमा सुगौलीबाट डकैलातर्फ जाँदै गरेको ना.४० प ६७४३ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही महानगरपालिका भवानीपुर बस्ने ७० वर्षीय सहिद राउत कुर्मीको मंगलबार दिउँसो मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको बयोधा अस्पताल वीरगंजमा थप उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।