नवकान्तिपुर संवाददाता
काठमाडौं, ८ कार्तिक ।
देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा आठ जनाको मृत्यु भएको छ । कपिलवस्तु, बुद्धभुमि नगरपालिका-२ गोरूसिङ्गे बजारस्थित सडकमा बा.०१-०२९ च ५१५० नम्बरको स्कार्पियोले लु.१ ह ३०९२ नम्बरको अटोलाई बिहीबार बिहान ठक्कर दिँदा अटोमा सवार बुद्धभुमि नगरपालिका-१० जनकपुर बस्ने ७५ वर्षीया सरस्वती पासी र सोही नगरपालिका-१० शिवपुर बस्ने ६५ वर्षीय सावर केवटको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएकी सरस्वतीको जिल्ला अस्पताल तौलिहवा र सावरको चौराह अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका अटो चालकको जिल्ला अस्पताल तौलिहवा र अटोमा सवार अन्य ३ जनाको चौराह अस्पताल बुटवलमा उपचार भइरहेको छ । स्कार्पियो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
त्यस्तै धनुषा, मिथिला बिहारी नगरपालिका-६ सिरसियास्थित सडकमा तारापट्टीबाट सिरसियातर्फ जाँदै गरेको म.प्र.०२-००५ प ९९७२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बुधबार राति दुर्घटना हुँदा चालक सोही ठाउँ बस्ने ३५ वर्षीय सियाराम मुखियाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।
यस्तै कपिलवस्तु, शिवराज नगरपालिका-१ भाईरलडाँडास्थित सडकमा लु.२ ख २१४२ नम्बरको बस र रा.७ प ३४८ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई बुधबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकल चालक दाङ राप्ती गाउँपालिका-४ मौरिघाट बस्ने २८ वर्षीय लिलाराम कुँवरको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको आधारभूत स्वास्थ्य सेवा अस्पताल चन्द्रौटामा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनालाई सोही अस्पताल हुँदै थप उपचारको लागि सौराहा अस्पताल बुटवल पठाइएको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यता झापा, कमल गाउँपालिका-४ केर्खा चोकस्थित सडकमा प्र.१-०१-००१ ख ४३३१ नम्बरको बसले ईलेक्ट्रोनिक साइकललाई बुधबार साँझ ठक्कर दिँदा साइकलमा सवार सोही गाउँपालिका-३ सानो केर्खा बस्ने टेक बहादुर लिम्बु र उनकै ९ वर्षीया नातिनीको घटनास्थलमै मृत्यु भएको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
उता सप्तरी, खडक नगरपालिका-११ बनौलीस्थित सडकमा बा.९१ प ८५९६ नम्बरको मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिई दुर्घटना हुँदा मोटरसाइकलमा सवार शम्भुनाथ नगरपालिका-११ राजपुर बस्ने ४० वर्षीय छेदिलाल मरिकको बुधबार राति मृत्यु भएको छ । दुर्घनामा गम्भीर घाइते भएका उनको छिन्नमस्ता अस्पताल राजबिराजमा उपचारको क्रममा मृत्यु भएको हो ।
साथै दुर्घटनामा घाइते भएका पैदलयात्रीको सोही अस्पतालमा उपचार भइरहेको छ । हाल फरार मोटरसाइकल चालकको प्रहरीले खोजी गरिरहेको छ । त्यस्तै बाजुरा, जगन्नाथ गाउँपालिका-५ भुकाखोलास्थित सडकमा कालिकोटबाट बाजुरातर्फ आउँदै गरेको क.प्र.०२-००१ प ४८१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बुधबार राति दुर्घटना हुँदा चालक कालिकोट सान्नित्रिवेणी गाउँपालिका-८ बस्ने ३० वर्षीय खेमराज बुढाको मृत्यु भएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।