‘क्रान्तिका अग्रदुत युगकवि सिद्धिचरण’ बजारमा

युगकवि सिद्धिचरणका कालजयी रचनाहरूको समीक्षा गरिएको पुस्तक ‘क्रान्तिका अग्रदुत युगकवि सिद्धिचरण’ बजारमा आएको छ । साहित्यकार, समीक्षक तथा समालोचक स्वयम्भु शाक्यद्वारा लिखित पुस्तक सुन्दर स्वदेश पब्लिकेशनले हालै बजारमा ल्याएको हो ।

पुस्तकमाथि युगकवि सिद्धिचरण प्रतिष्ठानका अध्यक्ष बैरागी काइँलाले मन्तव्य राखेका थिए । पुस्तकको ऐतिहासिक महत्वबारे युगकवि सिद्धिचरणको सिर्जनाका अध्येता डा फणिन्द्रराज निरौलाले प्रकास पारेका थिए । डा निरौलाले कृतिमाथि टिप्पणी गर्दै भने– ‘प्रस्तुत पुस्तक युगकवि सिद्धिचरणका प्रतिनिधि रचनाहरू अध्ययन गरिएको एउटा सुन्दरतम कृति हो ।’

त्यसैगरी पुस्तकमा युगकवि सिद्धिचरण प्रतिष्ठानका संरक्षक रविचरण श्रेष्ठले युगकवि सिद्धिचरणका केही कविता र खण्डकाव्यको विषयमा चिन्तन र विवेचना गरी प्रकाशनमा आएको पुस्तक एक महत्वपूर्ण दस्ताबेज भएको बताए ।

लेखक शाक्यले दुई वर्षको तयारीपछि पुस्तक बजारमा आएको बताए ।

६५ वटा फुटकर कविता, युगकविको जेल संस्मरण, मंगलमान, जुनकिरी र भीमशेन थापा शीर्षकको खण्डकाब्यका बारेमा अध्ययन गरी लेखिएको पुस्तक ५४० पेजको रहेको छ ।

मन छुने शैलीमा लेख्ने खुबी भएका शाक्यले युगकविको रचनाहरूलाई समीक्षामार्फत थप पठनीय बनाएका छन् ।

सम्बन्धित समाचार