नवकान्तिपुर संवाददाता
काठमाडौं, २१ कार्तिक ।
देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । पाल्पा, तानसेन नगरपालिका-८ ठुलोपहिरो गौडेस्थित सडकमा लु.८८ प ६६५६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई मंगलबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकलमा सवार सोही नगरपालिका-७ बस्ने २७ वर्षीया साबित्रा थापाको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएकी उनको लुम्बिनी मेडिकल कलेज पाल्पामा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ ।
त्यस्तै चितवन, रत्ननगर नगरपालिका-२ सब्जी मण्डीस्थित सडकमा मधेश प्रदेश ०१- ००१ ख ०४५७ नम्बरको बस र ना.२४ प १९१८ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई गए राति दुर्घटना हुँदा मोटरसाइकलमा सवार रत्ननगर नगरपालिका-१३ अमिलिया बस्ने २१ वर्षीय सुनिल पौडेलको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको नयाँ मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।
साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार अन्य दुई जनालाई थप उपचारको लागि राष्ट्रिय ट्रमा सेन्टर काठमाडौं रिफर गरिएको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यसैगरी चितवन, खैरहनी नगरपालिका-९ बैरहनी चोकस्थित सडकमा हाल नम्बर नखुलेको सवारी साधनको ठक्करबाट हाल नाम, थर, वतन नखुलेका अन्दाजी ५० वर्षीय पुरूषको गए राति मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला सरकारी अस्पताल भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार सवारी साधन र चालकको प्रहरीले खोजी गरिरहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।