नवकान्तिपुर संवाददाता
काठमाडौँ, २४ कात्तिक l
मुलुकको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा धमाधम अन्तर्राष्ट्रिय उडान हुन थालेको छ । सोही क्रममा आज शनिबार तीनवटा अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान सञ्चालन गर्दैछन् ।
निर्माण सम्पन्न भएको लामो समयपछि यो विमानस्थलमा नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स), जजिरा एयर र फ्लाई दुबईले अन्तर्राष्ट्रिय उडान भर्न लागेका हुन् । विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार विमानस्थलबाट पहिलोपटक आज अहिलेसम्मकै धेरै तीनवटा अन्तर्राष्ट्रिय उडान हुन लागेका छन् ।
“गौतमबुद्ध विमानस्थल उद्घाटन भएपछि पहिलोपटक यती धेरै सङ्ख्यामा उडान हुन लागेको छ, यसले यो विमानस्थल आगामी दिनमा व्यावसायिक उडानहरु बढ्नेछन् र यात्रुहरुको आकर्षण पनि बढ्नेछ”, उहाँले भन्नुभयो ।
नेपाल एयरलाइन्स र जजिरा एयरले पुनः उडान गर्न लागेका हुन् भने फ्लाई दुबईले पहिलोपटक गौतमबुद्ध विमानस्थलमा उडान सञ्चालन गर्न लागेको हो । योसँगै गौतमबुद्ध विमानस्थलमा नियमित अन्तर्राष्ट्रिय उडान गर्ने हवाई सेवा कम्पनीको सङ्ख्या चार पुगेको छ ।
साथै थाई एयर एसियाले शुक्रबार दोस्रोपटक भैरहवाबाट बैंकक उडान सञ्चालन गरेको छ । थाई एयर एसियाले यही कात्तिक १८ गतेदेखि व्यावसायिक उडान सुरु गरेको थियो । कम्पनीले साताको दुई दिन (सोमबार र बिहीबार) बैङ्कक उडान गर्नेगरी उडान अनुमति लिएको छ ।
गौतमबुद्ध विमानस्थलमा छिट्टै कतार एयरले पनि उडान सञ्चालन गर्ने तयारी गरेको विमानस्थलले जनाएको छ । उडान तालिकाअनुसार आज बिहान साढे ७ बजे कुवेतबाट जजिरा एयरको विमान भैरहवा अवतरण हुँदैछ । यो विमान भैरहवाबाट बिहान साढे ८ बजे कुवेत फर्किनेछ । यसअघि १० महिना उडान भरेर उडान स्थगित गरेको एयरलाइन्सले पुनः सोही विमानस्थलमा उडान सुरु गर्न लागेको हो ।
जजिराले सातामा तीन दिन मङ्गलबार, बिहीबार र शनिबार उडान भर्नेछ । यस्तै फ्लाई दुबईको विमान पहिलोपटक भैरहवा विमानस्थलमा अवतरण हुँदैछ । आज दिउँसो १२ बजे फ्लाई दुबईको विमान भैरहवा आउने महाप्रबन्धक तिवारीले जानकारी दिनुभयो । भैरहवाबाट यात्रु लिएर फ्लाई दुबईको विमान काठमाडौँ भएर दुबई फर्किने तालिका छ । हप्ताको सातै दिन फ्लाई दुबईले दुबई–भैरहवा र भैरहवा–काठमाडौँ–दुबई उडान गर्न लागेको हो ।
नेपाल एयरलाइन्सको भैरहवाबाट दुबई र क्वालालम्पुर उडान नेपाल एयरलाइन्सले भैरहवा विमानस्थल बेस बनाएर मलेसियाको क्वालालम्पुर र दुबई उडान भर्दैछ । शुक्रबारका लागि निर्धारित नेपाल एयरलाइन्सको विमानको उडान समेत आजलाई सारिएको महाप्रबन्धक तिवारीले बताउनुभयो ।
नेपाल एयरलाइन्सले प्राविधिक कारण देखाउँदै शुक्रबारको उडान शनिबारलाई सारेको जनाएको छ । नेपाल एयरलाइन्सको विमान काठमाडौँबाट भैरहवा अवतरण गरी दुबई उड्ने विमानस्थलले उडान तालिका बनाएको छ । नेपाल एयरलाइन्सले मलेसियाको क्वालालम्पुरबाट भैरहवा साताको मङ्गलबार एक उडान भर्नेछ । यो एयरलाइन्सको विमान बिहान ७ बजे भैरहवा अवतरण हुनेछ । यो गन्तव्यमा नेपाल एयरलाइन्सले अघिल्लो वर्ष उडान सुरु गरेको थियो ।
फ्लाई दुबईले कात्तिकदेखि दुबई–भैरहवा र भैरहवा–काठमाडौँ हुँदै दुबई उडान भर्न लागेको नेपाल नागरिक उड्डयन प्राधिकरणका सहप्रवक्ता ज्ञानेन्द्र भूलले जानकारी दिनुभयो । विमानस्थल उद्घाटन भएको लामो समय भए पनि यहाँबाट अन्तर्राष्ट्रिय उडान नहुँदा यहाँका निजी क्षेत्र निराश भएका छन् ।