ककनी– २ मा हुने उपनिर्वाचनको तयारीले गाउँघरलाई तरङ्गित पार्दै

नुवाकोट जिल्ला ककनी गाउँपालिका वडा नं. २ मा वडाध्यक्ष पदको लागि हुन लागेको उपनिर्वाचनको प्रचार–प्रसारले क्रमशः तीव्रता पाउन थाल्ऽेको छ । आउँदो मंसिर १६ गते हुन लागेको उपनिर्वाचनका लागि तीन दलले आ–आफ्ना उम्मेद्वारको चयन गरी घरदैलो अभियानमा सक्रियता देखाउन थालेका छन् ।

नेपाली काङ्ग्रेसबाट निर्वाचित वडाध्यक्ष तिलकबहादुर लामाको अचनाक भएको निधनपश्चात रिक्त हुन पुगेको अध्यक्ष पदका लागि हुन लागेको उपनिर्वाचनमा नेपाली काङ्ग्रेस पार्टीको स्थानीय वडा र पालिकास्तरीय समितिले सूर्य जिम्बा तामाङलाई सर्वसम्मत उम्मेदवार तोकी क्षेत्रीय समितिमा पठाएको ककनी पालिका समितिकी अध्यक्ष भाग्यश्री लामाले बताइन् । सूर्य जिम्बा तामाङ नेविसंघबाट राजनीतिमा उदाएका युवा नेता हुन् ।



त्यस्तै, नेकपा माओवादी केन्द्रले २०७९ को निर्वाचनमा उम्मेदवार बनाइएका कृष्ण घिमिरे मिलनलाई नै उम्मेदवार बनाउने निर्णय गरेको छ । घिमिरेले चुनावी प्रचार–प्रसारको घरदैलो कार्यक्रममा सक्रियता देखाउन थालिसकेका छन् । २०७९ को निर्वाचनमा झिनो मतान्तरले नेपाली काङ्ग्रेसका उम्मेदवार तिलक लामासँग पराजित भएका थिए ।

नेकपा एमालेले यमबहादुर तामाङलाई उम्मेदवारको रुपमा मैदानमा अघि बढाएको छ ।

तीन प्रमुख पार्टीहरूको प्रतिस्पर्धामा नेपाली काङ्ग्रेसका उम्मेदवार सूर्य जिम्बा तामाङ र नेकपा माओवादी केन्द्रका उम्मेदवार कृष्ण घिमिरे मिलनबीच नै प्रतिस्पर्धा हुने देखिन्छ ।

राप्रपा, रास्वपालगायत अन्य पार्टीहरूले उम्मेदवारको चयन प्रक्रियालाई चाँडै टुङ्ग्याउने बताइएको छ ।
उम्मेदवारहरूले स्ट्रबेरी खेती, फोहरमैला व्यवस्थापन, डम्पिङ साइट बञ्चरेडाँडाको उचित व्यवस्थापन, खानेपानी, मोटरेबल बाटो मर्मत, सिंचाइ सुविधा, चुस्त प्रशासनिक सेवा, जनताका दैनिकीसँग प्रत्यक्ष जोडिएका कुराहरूआदिलाई सहजीकरण गर्ने जस्ता विषयलाई चुनावी नारा बनाएका छन् ।

सम्बन्धित समाचार