सवारी दुर्घटनामा छ जनाको मृत्यु

देशका विभिन्न स्थानमा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा छ जनाको मृत्यु भएको छ । काभ्रे, पनौती नगरपालिका-५ धनेश्वरस्थित सडकमा बा.प्र. ०२-०२२ प ७५९७ नम्बरको स्कुटरलाई बा.७८ प ५९६५ नम्बरको मोटरसाइकलले मंगलबार दिउँसो ठक्कर दिँदा स्कुटर चालक सोही नगरपालिका-५ बस्ने ४२ वर्षीय राम कृष्ण कुँवरको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनलाई उपचारको लागि शिर मेमोरियल अस्पताल बनेपातर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

त्यस्तै डडेल्धुरा, पर्शुराम नगरपालिका-९ नौलास्थित सडकमा कञ्चनपुरको दैजीबाट जोगबुढा डडेल्धुरातर्फ आउँदै गरेको लु.१ ज ४५७९ नम्बरको बोलेरो जिप सडकबाट करिब १ सय मिटर तल खसेर मंगलबार दिउँसो दुर्घटना हुँदा जिपमा सवार सोही नगरपालिका- ११ सलेता बस्ने ४० वर्षीया मोति देवी सार्की र आलिताल गाउँपालिका-७ थली बस्ने ३८ वर्षीया धना देवी बुढाको घटनास्थलमै मृत्यु भएको छ ।

साथै दुर्घटना घाइते भएका जिपमा सवार १० जना मध्ये ४ जनाको महाकाली प्रादेशिक अस्पताल कञ्चनपुरमा उपचार भइरहेको छ भने ६ जनालाई थप उपचारको लागि सेती प्रादेशिक अस्पताल धनगढी कैलाली पठाइएको छ । जिप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

त्यस्तै रूपन्देही, तिलोत्तमा नगरपालिका-८ चार नम्बरस्थित सडकमा शिवपुरबाट मणिग्रामतर्फ जाँदै गरेको लु.२ ख ३०१९ नम्बरको ट्रकको ठक्करबाट साइकलयात्री सोही ठाउँ बस्ने ६० वर्षीय राम बहादुर थापाको मंगलबार बेलुकी मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको लुम्बिनी प्रदेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उता कैलाली, घोडाघोडी नगरपालिका-१ डोडापुलस्थित सडकमा से.३ प ७६७३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई मंगलबार राति दुर्घटना हुँदा मोटरसाइकलमा सवार सोही नगरपालिका-३ जुरपानी बस्ने २४ वर्षीय अनिल चौधरीको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको घोडाघोडी अस्पताल सुख्खडमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकलाई थप उपचारको लागि निसर्ग अस्पताल धनगढी रिफर गरिएको छ । यता पर्सा, वीरगंज महानगरपालिका-२५ बहुअरी चोकस्थित सडकमा पावरहाउसबाट बिन्दबासिनीतर्फ जाँदै गरेको ना.४१ प ११७४ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री बारा कलैया उपमहानगरपालिका-४ बस्ने ४५ वर्षीय राम नारायण राउत कुर्मीको मंगलबार दिउँसो मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाइते भएका उनको तराई हस्पिटल वीरगंजमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार