नवकान्तिपुर संवाददाता
काठमाडौं, ६ मंसिर ।
देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ । उदयपुर, त्रियुगा नगरपालिका-१३ असारीमा स.१ त ५७४२ नम्बरको ट्याक्टरले प्र.१-०५-००१ प ४२७३ नम्बरको मोटरसाइकललाई बुधबार साँझ ठक्कर दिँदा मोटरसाइकल चालक सोही ठाउँ बस्ने ४५ वर्षीय महादेव चौधरीको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल उदयपुरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार अन्य दुई जनालाई थप उपचारको लागि न्यूरो अस्पताल बिराटनगर रिफर गरिएको छ । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
त्यस्तै धनुषा, बटेश्वर गाउँपालिका-३ कटानी टोलस्थित सडकमा लु.८४ प ७४३४ नम्बरको मोटरसाइकलको ठक्करबाट सोही ठाउँ बस्ने अजय साहकी छोरी २ वर्षीया साक्षी कुमारी साहको बुधबार साँझ मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार मोटरसाइकल चालकको प्रहरीले खोजी गरिरहेको छ ।
यस्तै रौतहट, चन्द्रपुर नगरपालिका-९ चपुर गौर सडकमा बिआर ०५ पिए ६२५६ नम्बरको स्कारपियोले लु.१२ प २९४१ र प्रदेश २-०३-०१२ प ८७६१ नम्बरको मोटरसाइकललाई बुधबार राति ठक्कर दिँदा लु.१२ प २९४१ नम्बरको मोटरसाइकलमा सवार गुजरा नगरपालिका-५ इसलामपुर बस्ने २४ वर्षीय अलका मुसलमानको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको हाईवे ट्रमा सेन्टर चपुरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका सोही मोटरसाइकलमा सवार एक जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । प्रदेश २-०३-०१२ प ८७६१ नम्बरको मोटरसाइकल चालक र स्कारपियो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसैगरी रौतहट, चन्द्रपुर नगरपालिका-६ तल्लो बजारस्थित सडकमा सन्तपुरबाट चपुरतर्फ आउँदै गरेको बा.३४ प ४२४ नम्बरको मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिई गए राति दुर्घटना हुँदा चालक हाल नाम, थर, वतन नखुलेका अन्दाजी २५ वर्षीय पुरूषको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको चन्द्रपुर प्रालि अस्पताल चपुरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका पैदलयात्रीको सोही अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।