नवकान्तिपुर संवाददाता
काठमाडौं, १० मंसिर l
नेपाली क्रिकेटको सर्वाधिक प्रतिक्षामा रहेको नेपाल प्रिमियर लिग (एनपीएल )को ट्रफी धराहरा परिसरबाट सार्वजनिक गरिएको छ । सोमबार सोमबार ऐतिहासिक धरहरा परिसरबाट प्रधानमन्त्री केपी शर्मा ओलीले यही मंसिर १६ गतेदेखि काठमाडौंमा सुरु हुने प्रतियोगिताको ट्रफी अनावरण गर्नुभएको हो ।
उक्त अवसरमा प्रधानमन्त्री ओलीले नेपाल प्रिमियर लिग (एनपीएल ) ले नेपालको पर्यटन प्रवर्द्धन र युवा प्रतिभालाई अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गर्न प्रत्यक्ष सहयोग पुग्ने बताउनुभयो । उहाँले लिगका लागि सरकारले सक्दो सहयोग र प्रोत्साहन गर्ने विश्वास दिलाउनुभयो ।
प्रधानमन्त्री ओलीले खेल क्षेत्रको विकासका लागि सरकार सधैँ खेलाडीको साथमा रहेको बताउनुभयो । उहाँले एनपिएलले नेपाली क्रिकेटमा नयाँ आयाम थप्ने अपेक्षा व्यक्त गर्नुभयो ।
“क्रिकेट हाम्रो पुस्ताको सपना र गौरवको विषय पनि हो । यस लिगको माध्यमबाट नेपाली क्रिकेटमा नयाँ आयाम थप्न सकियोस्”,प्रधानमन्त्री ओलीले भन्नुभयो,“सरकार यहाँहरूकै साथमा छ । व्यक्तिगत रूपमा म सरकारमा हुँदा वा नहुँदा जहिल्यै पनि मेरो रुचि र अपनत्व रहनेछ । सहभागी खेलाडी सबैलाई जितको शुभकामना दिन चाहन्छु ।”
उहाँले यस खेलमार्फत युवा प्रतिभाको उजागर र नेपालीले अवसर पाएमा केही गर्छ भन्ने मान्यतालाई स्थापित होस् भन्ने कामनासमेत गर्नुभयो ।
त्यस्तै ट्रफीमा कालापत्थरबाट ल्याइएको ढुंगा प्रयोग गरिएको नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले जानकारी दिनुभयो ।
पर्वतारोही निमा शेर्पा र मिङ्मा शेर्पाले कालापत्थरबाट ल्याएको ढुंगालाई ट्रफीको सवैभन्दा माथिल्लो भागमा राखिएको छ ।
यस्तै युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले एनपीएलको चर्चा राष्ट्रिय मात्र नभइ अन्तर्राष्ट्रिय रुपमा पनि चर्चा पाइरहेको बताउनुभयो । उक्त अवसरमा राखेप सदस्य सचिव टंकलाल घिसिङले पनि एनपीएललाई शुभकामना दिनुभएको थियो ।
यस्तै क्यानका अध्यक्ष चतुरबहादुर चन्दले एनपीएलमा आबद्ध सबैलाई धन्यवाद दिँदै सफल पार्न सहयोग हुने विश्वास राख्नु भएको थियो ।
आगामी शनिबारबाट सुरु हुँदे प्रतियोगिताको उद्घाटन खेल विराटनगर किङ्स र जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा हुँदैछ ।