नवकान्तिपुर संवाददाता
काठमाडौं, १३ मंसिर ।
देशका विभिन्न स्थानमा भएको सवारी दर्घटनामा तीन जनाको मृत्यु भएको छ । कैलाली, गोदावरी नगरपालिका-३ भैँसीहाट बजारस्थित सडकमा रोकी राखेको से.२ त ४५२३ नम्बरको ट्याक्टरमा से. ६ प ९२९४ नम्बरको मोटरसाइकल ठक्कर खाई बुधबार बेलुकी दुर्घटना हुँदा मोटरसाइकल चालक बैतडी डिलासैनी गाउँपालिका-६ बस्ने २२ वर्षीय नवीन थलालको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । त्यस्तै रूपन्देही, बुटवल उपमहानगरपालिका-१७ हरिहरपुरस्थित सडकमा लु.३६ प ७६१७ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही उपमहानगरपालिका-१७ मोतिपुर बस्ने ४५ वर्षीया कमला पौडेलको बुधबार राति मृत्यु भएको छ ।
ठक्करबाट गम्भीर घाइते भएकी उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । त्यस्तै भक्तपुर, मध्यपुर ठिमी नगरपालिका-३ गठ्ठाघर चोकस्थित सडकमा ना.८ ख २३११ नम्बरको ट्रेलरले बा.प्र.०२-०३८ प ४४०१ नम्बरको स्कुटरलाई बिहीबार बिहान ठक्कर दिँदा स्कुटरमा सवार भक्तपुर नगरपालिका-५ घर भएकी ४१ वर्षीया नविना देउलाको मृत्यु भएको छ ।
ठक्करबाट गम्भीर घाइते भएकी उनको भक्तपुर इन्टरनेशनल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका स्कुटर चालकलाई उपचारको लागि नागरिक अस्पताल गठ्ठाघर पठाइएको छ । ट्रेलर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।