नवकान्तिपुर संवाददाता
काठमाडौं, २६ मंसिर ।


वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा कास्की पोखरा महानगरपालिका-२५ घर भई काठमाडौं टोखा नगरपालिका-६ बस्ने ३० वर्षीय मधु तिमल्सिना अधिकारी, रूपन्देही देवदह नगरपालिका- १२ घर भई काठमाडौं महानगरपालिका-२८ बस्ने ३२ वर्षीया गीता कुँवर र काठमाडौं महानगरपालिका बागबजारस्थित ग्लोबल एक्सेल अपस्किल एण्ड स्टडी इन्फो सेन्टरका संचालिका सिरहा नगरपालिका-७ घर भई काठमाडौं महानगरपालिका-२२ बस्ने ३० वर्षीया दिव्या यादव रहेका छन् ।
पक्राउ मध्ये मधुले रोमानिया पठाइदिन्छु भन्दै तीन जना पीडितहरूबाट ७ लाख रूपैयाँ, गीताले युके पठाइदिन्छु भन्दै ८ जना पीडितहरूबाट १६ लाख ५ हजार रूपैयाँ र दिव्याले स्लोभाकिया पठाइदिन्छु भन्दै एक जना पीडितबाट ५ लाख १५ हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।
प्रहरीले मधुलाई काठमाडौं टोखा नगरपालिका-६ बाट र गीतालाई काठमाडौं महानगरपालिका-२८ बाट मंगलबार तथा दिव्यालाई काठमाडौं न्यूरोडबाट सोमबार पक्राउ गरेको हो । पक्राउ मध्ये मधु र गीतालाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं र दिव्यालाई जिल्ला प्रहरी परिसर काठमाडौं भद्रकाली पठाइएको छ ।


