नवकान्तिपुर संवाददाता
काठमाडौं, ५ पुस ।


देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । सिरहा, नरहा गाउँपालिका-३ आर्मी ब्यारेकस्थित सडकमा ना.८ ख ८८२२ नम्बरको टिपरमा प्र.२-०१-००१ प ९२६३ नम्बरको मोटरसाइकल ठक्कर खाई बिहीबार बेलुकी दुर्घटना हुँदा मोटरसाइकल चालक गोलबजार नगरपालिका-११ बलगाँवा बस्ने २४ वर्षीय बासु कुमार साहको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको लाइफ लङ्ग अस्पताल गोलबजारमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनालाई सोही अस्पताल हुँदै थप उपचारको लागि विराटनगरतर्फ रिफर गरिएको छ । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
त्यस्तै सर्लाही, लालबन्दी नगरपालिका-६ स्थित सडकमा बा.९४ प ९२३४ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री हाल नाम, थर वतन नखुलेका अन्दाजी ५२ वर्षीय पुरूषको बिहीबार साँझ मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको म्याक्स हस्पिटलमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार २ जनाको विएण्डवी अस्पताल ललितपुरमा उपचार भइरहेको छ ।
यस्तै कास्की, अन्नपुर्ण गाउँपालिका-१० बिकासे डाँडास्थित सडकमा ग.१ ज ८६२१ नम्बरको स्कारपियो सडकबाट करिब ६ सय मिटर तल खसेर बिहीबार दिउँसो दुर्घटना हुँदा स्कारपियोमा सवार मुस्ताङ थासाङ गाउँपालिका-१ टुकुचे बस्ने ७० वर्षीया भिम कुमारी थकालीको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएकी उनको मणिपाल शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका अन्य ४ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । स्कारपियो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


