आज सूर्यदेवको विशेष पूजा आराधना गरिँदै

पुस महिनाको पहिलो आइतबार आज भगवान् सूर्यको पूजा आराधना गरिँदै छ । वैदिक सनातन हिन्दू धर्म परम्पराअनुसार पुसलाई सूर्य देवताको महिना मानिन्छ ।

आजलाई पौषकृष्णपक्ष सप्तमी तिथि अर्थात् रविसप्तमी पनि भनिन्छ । यस महिनामा सूर्यको दर्शन एवं पूजन गरेर मात्र खाने र प्रत्येक रविवार पवित्र भई व्रत बसी मध्याह्नमा सूर्यदेवको विशेष पूजा गरी करवीरको पातमा जल, पञ्चामृत राखी सूर्यलाई अर्घ्य दिइन्छ । सूर्य भगवान्लाई मन पर्ने प्रसादको रूपमा घिउ खट्टे, चिनी आदि चढाइन्छ ।



पुस महिनाका सूर्यको नाम विष्णु हो । विष्णुले सबैसँग कुरा गर्दा एक पक्षलाई एक दिन मान्नुपर्ने एक पक्षको पक्षधरता छ । आजको दिन बर्तालुले घरमा ब्राह्मण बोलाएर पूजा आराधनासहित अन्न दान निदुपर्ने व्यवस्था रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाड्ग निर्णायक विकास समितिका सदस्य प्रा डा देवमणि भट्टराई बताउनुहुन्छ ।

सर्वप्रथम भगवान् नारायणबाट ब्रह्माजी आविर्भाव हुनुभयो । ब्रह्माजीको मनबाट मरिचिऋषि, मरिचिको पुत्र कश्यपऋषि कश्यपको धर्मपत्नी अदितिबाट विवस्वान् सूर्यको जन्म भएको भन्ने विभिन्न शास्त्रीय ग्रन्थमा उल्लेख गरिएको छ ।

सूर्य सर्वप्रथम मृत अचेतन अण्डमा बस्नुभएकाले उहाँलाई मार्तण्ड भनिन्छ । नारायण भगवान् मृत अण्डमा प्रवेश गरी हिरण्यमय ज्योतिर्मय ब्रह्माण्डबाट प्रकट हुनुभएकाले उहाँलाई सूर्यनारायण हिरण्यगर्भ भनिएको पण्डित बालमुकुन्द देवकोटाका बताउनुहुन्छ ।

नौ ग्रहमध्ये सूर्य माझमा निवास गर्ने भएकाले उहाँलाई अधिपतिप्रमुख मालिक मानिन्छ । भगवान् सूर्यले आफ्नो ताप र प्रकाशले अन्धकारलाई स्वतस्फूर्त नाश गरी तीनैलोक स्वर्ग, मत्र्य, पाताल तताएर प्रकाशित गर्नुहुन्छ । ज्योतिर्मय रथले सबै ठाउँमा घुम्नुहुन्छ । बस्ने ठाउँ छत्तीस लाख योजन लामो र नौ लाख योजन चौडाइ छ । यसको जुवा छत्तीस लाख योजन लामो छ ।

कालरूपधारी भगवान् सूर्य लोकको व्यवहार ठिक-ठिक चलाउनका लागि चैत्रादि बाह्र महिनामा क्रमशः १२ वटा नाम धाता, अर्यमा, मित्र, वरुण, इन्द्र, विवस्वान्, त्वष्टा, विष्णु, अंशु, भग, पूषा, पर्जन्य नामले प्रवेशगर्दा ऋषिहरुले सूर्यसम्बन्धी ऋग्वेद, यजुर्वेद र सामवेदको मन्त्रद्वारा उहाँको स्तुति गर्नुहुन्छ । त्यहीबेला गन्धर्व उहाँको सुयशको गान गर्दैगर्दा अगाडि-अगाडि अप्सरा नृत्य गर्दै हिँड्नुहुन्छ ।

उहाँको पूजा षोडोशोपचारले आँक, कुश, शमी ,करवीर, रातो कमलको फूलले गर्दछ भने उसलाई धर्म, अर्थ, काम र मोक्ष मिल्ने गर्दछ । यो पृथ्वीमा जो पतित र जुठोखाने मानिस समेत सूर्यको किरणको स्पर्शले पवित्र हुन्छ ।

आइतबार सूर्यको सङ्क्रान्ति तथा शुक्लपक्षको सप्तमी पर्यो भने त्यो दिन गरेको पूजा, व्रत, जप अक्षय हुनेछ । जसले ‘आदित्याय बिध्महे भास्कराय धिमहि तन्नो भानु : प्रचोदयात्’ भनी सूर्यको गायत्री जपी पूजा, जप, स्तुति, मुद्रा, अञ्जलीले नमस्कार र धेनु मुद्राद्वारा ॐ इन्द्राय नमः स्वाहा, ॐ विष्णवे नमः भनी हवन र जप गर्दछ भने उसले सायुज्य मुक्ति प्राप्त गर्दछ ।

जसले उदाउँदा ब्रह्मा, मध्याह्नमा महेश्वर, अस्ताउँदा विष्णु भनी पूजा र नमस्कार गर्दछ भने उसले चाहेको फल प्राप्त गर्दछ । रोग निको हुने गर्दछ ।

सम्बन्धित समाचार