नवकान्तिपुर संवाददाता
काठमाडौं, १० पुस ।
जबरजस्ती करणी गरेको अभियोगमा देशका विभिन्न स्थानबाट चार जना पक्राउ परेका छन् । २३ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको घटनामा संलग्न रहेको अभियोगमा तीन जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा मोरङ, कटहरी गाउँपालिका-२ बस्ने १९ वर्षीय मो.रमजान, सोही ठाउँ बस्ने १९ वर्षीय सोनु कुमार साह र भारत अररीया कुशाकट्टा बस्ने १९ वर्षीय मो.गुल्जार रहेका छन् । कटहरी गाउँपालिका-२ कदमगाछीस्थित बाँसघारीमा ती महिलालाई वेहोस अवस्थामा फेला परेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी कटहरीबाट खटिएको प्रहरीले उनलाई तत्काल उपचारको लागि कोशी अस्पताल बिराटनगर पठाएको थियो ।
साथै जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले थप अनुसन्धान एवम् सोधपुछ गर्दा रमजान, सोनु कुमार र गुल्जारले ती महिलालाई सिटी सफारीमा राखी कटहरी गाउँपालिका-२ कदमगाछीस्थित बाँसघारीमा लगेर तीन जना मध्ये रमजानले जबरजस्ती करणी गरेको तथा अन्य दुई जनाले पीडितलाई समाउने कार्यमा सघाएको भन्ने खुल्न आएपश्चात तीनै जनालाई मोरङको विभिन्न स्थानबाट प्रहरीले पक्राउ गरेको हो ।
त्यस्तै १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा प्युठान, नौबहिनी गाउँपालिका-१ खारखोला बस्ने २५ वर्षीय ज्ञानेन्द्र राना मगरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
मगरले ती किशोरीलाई पुस १ गते जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी स्याउलिवाङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।