नवकान्तिपुर संवाददाता
काठमाडौं, १२ पुस ।


देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ । कैलाली, धनगढी उपमहानगरपालिका-३ स्थित सडकमा सु.प.प्र.०१२ प ९४१६ नम्बरको मोटरसाइककले सु.प.०१-०१२ प ७११ नम्बरको मोटरसाइकललाई बिहीबार साँझ ठक्कर दिँदा सु.प.प्र ०१-०१२ प ७११ नम्बरको मोटरसाइकलमा सवार बाजुरा बडिमालिका नगरपालिका-७ बस्ने ३० वर्षीय धर्म खत्रीको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको मायामेट्रो अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएकी सु.प.०१-०१२ प ७११ नम्बरको मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ । सु.प.प्र.०१२ प ९४१६ नम्बरको मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
त्यस्तै कपिलवस्तु, कृष्णनगर नगरपालिका-८ देवनगढियास्थित सडकमा लु.३८ प ३७०६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बिहीबार बेलुकी दुर्घटना हुँदा चालक सोही नगरपालिका-१ सिसहनिया बस्ने २७ वर्षीय कपिल कुर्मीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको शिवराज अस्पताल बहादुरगंजमा उपचारको क्रममा मृत्यु भएको हो ।
यस्तै सिन्धुली, कमलामाई नगरपालिका-९ चुरेस्थित सडकमा ना.४ ख ४५६२ नम्बरको बसको ठक्करबाट धनुषा मिथिला नगरपालिका-११ बस्ने ६८ वर्षीया पूर्णमाया तामाङको मृत्यु भएको छ । बिहीबार दिउँसो बसले ठक्कर दिँदा गम्भीर घाइते भएकी उनको शुभस्वस्तिक अस्पताल बर्दिबासमा उपचारको क्रममा बिहीबार राति मृत्यु भएको हो ।
बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उता मोरङ, उर्लाबारी नगरपालिका-४ बक्राहा पुलस्थित सडकमा पथरीबाट उर्लाबारीतर्फ जाँदै गरेको प्रदेश.१-०१-००१ ख ४१३६ नम्बरको बसको ठक्करबाट साइकलयात्री सोही ठाउँ बस्ने ६६ वर्षीय निर बहादुर लिम्बुको शुक्रबार बिहान मृत्यु भएको छ ।
ठक्करबाट गम्भीर घाइते भएका उनको मदन भण्डारी अस्पताल तथा ट्रमासेन्टर मंगलबारेमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


