माझीगाउँमा चालिसेको ‘लेकबेंसीका सुगन्ध’ सार्वजनिक

साहित्यकार एवं पत्रकार महेन्द्र चालिसेको नवीनतम् कृति ‘लोकबेंसीका सुगन्ध’ काभ्रेको मण्डन देउपुरस्थित इन्द्रावतीको काखमा अवस्थित माझीगाउँमा विमोचन गरिएको छ ।

पुस १३ गते शनिबार बिख्यात आख्यानकार रमेश विकलको बहुचर्चित कृति ‘अविरल बग्दछ इन्द्रावती’को सिर्जनास्थल माझी गाउँमा विकलकै कनिष्ठ पुत्र महेन्द्र चलिसेको कृति सार्वजनिक गरिएको हो ।

‘अर्जुन–राधा फाण्डेशन’को आयोजनामा संस्थाका संरक्षक अर्जुन नेपालको सभापतित्व, वरिष्ठ साहित्यकार तथा साहित्यिक पत्रकार रोचक घिमिरेको प्रमुख आतिथ्यमा कृति विमोचन गरिएको हो ।

झट्ट हेर्दा र सुन्दा आफ्नो भ्रमणका गन्थन समेटिएको जस्तो लाग्ने भए पनि पुस्तकको पहिलो पाठदेखि नै उत्सुकता जगाउने गरी नेपालको धार्मिक–सांस्कृतिक पक्षहरुको मेहेनतका साथ प्रचार गर्न ठूलो गुण लगाएको विमोचन समारोहमा समालोचकहरुको धारणा थियो ।

समारोहमा वरिष्ठ समालोचक गोपी मैनालीले हेर्दा नियात्रा जस्तो लागे पनि चालिसेको यो कृतिले नेपालको आध्यात्मिक क्षेत्रको प्रबद्र्धनमा सघाउ पुर्याएको बताउँदै मुलुकभित्र रहेका यस्ता क्षेत्रहरुको भ्रमणका लागि प्रेरित गर्ने बताउनुभयो ।

अर्का समालोचक ठाकुर शर्मा भण्डारीले विमोचित कृति नियात्रा जस्तो लाग्ने, तर त्यसले पूर्णता नपाएको, यात्रा संस्मरण मान्ने हो भने त्योभन्दा धेरै गहन भएको टिप्पणी गदै कृतिले आम पाठकहरुलाई भ्रमणप्रति रुची जगाउने विश्वास व्यक्त गर्नुभयो ।

वरिष्ठ साहित्यकार तथा पत्रकार विजय चालिसेले आफ्नो भाइ महेन्द्रको साहित्यिक लेखन कथाबाट सुरु भए पनि पछिल्लो समय नियात्रातिर केन्द्रित भएको र नियात्रामा पनि धार्मिक क्षेत्रहरुमा केन्द्रित रहेकोमा खुसी व्यक्त गर्नुभयो ।

उहाँले नेपाल वेद पुराणको रचनाभूमि, ज्ञान प्रचारको क्षेत्र भए पनि नेपालका धार्मिक क्षेत्रहरुको प्रचार हुन नसकेकामा प्रस्तुत कृतिले यसको महत्व दर्शाउन अहं भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा प्रमुख अथिति साहित्यकार रोचक घिमिरेले रमेश विकलले अलिरव बग्दछ इन्द्रावती कृति रचना गर्नुभएको स्थानमा उहाँकै कान्छा छोराको कृति विमोचन गर्न पाउँदा ४० वर्षअघि विकलसंग सो स्थानमा आएको स्मरण गर्नुभयो ।

समारोहमा सर्जक महेन्द्र चालिसेले प्रस्तुत कृतिका बारेमा प्रकाश पार्दै विमोचन समारोहमा उपस्थित सबैप्रति धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

आलोक चालिसेले संचालन गर्नुभएको कार्यक्रममा ‘अर्जुन–राधा फाउण्डेशन’का अध्यक्ष सुमन नेपालको स्वागत मन्तव्य तथा पुस्तक प्रकाशक संस्था सुरभि साहित्य प्रतिष्ठानका अध्यक्ष बाजुराम पौडेलले संस्थाले कृति प्रकाशन गर्नुको कारण र यसको महत्वमाथि प्रकाश पार्नुभएको थियो ।

सम्बन्धित समाचार