नवकान्तिपुर संवाददाता
काठमाडौं, १६ पुस ।
देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा छ जनाको मृत्यु भएको छ । काठमाडौं, तार्केश्वर नगरपालिका-२ काभ्रेस्थलीस्थित सडकमा बा.९६ प ६५४९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सोमबार राति दुर्घटना हुँदा मोटरसाइकलमा सवार संखुवासभा चैनपुर नगरपालिका-९ घर भई काठमाडौं बौद्ध बस्ने ३३ वर्षीय कमल राईको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको ग्रीनसिटी अस्पताल बसुन्धारामा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ । त्यस्तै ललितपुर, ललितपुर महानगरपालिका-१८ मगरगाउँस्थित सडकमा बा.२ ख ३१०२ नम्बरको माइक्रोको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने रामेछाप मन्थली नगरपालिका-७ घर भएकी ३५ वर्षीया गोमा मगरको सोमबार साँझ मृत्यु भएको छ ।
ठक्करबाट गम्भीर घाइते भएकी उनको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको हो । उक्र माइक्रोले रोकी राखेको बा.७ च ५९८७ नम्बरको बोलेरो गाडी र पैदलयात्रीलाई समेतलाई ठक्कर दिई दुर्घटना भएको थियो । माइक्रो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यस्तै रूपन्देही, बुटवल उपमहानगरपालिका-१८ सौराहास्थित सडकमा लु.२६ प ६३०९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सोमबार दिउँसो दुर्घटना हुँदा चालक सोही ठाउँ बस्ने २२ वर्षीय डोलराज थारूको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको क्रिमसन हस्पिटल मणिग्राममा उपचारको क्रममा मृत्यु भएको हो ।
उता बाँके, बैजानाथ गाउँपालिका-५ स्थित सडकमा भे.१२ प ८७८६ नम्बरको मोटरसाइकल साइकलसँग सोमबार साँझ ठक्कर खाई पुन: भे.९ प ९६६ नम्बरको स्कुटरमा समेत ठक्कर खाई दुर्घटना हुँदा मोटरसाइकल चालक बैजनाथ गाउँपालिका-३ बस्ने ३० वर्षीय नोशन चौधरीको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका साइकलयात्री र स्कुटरमा सवार २ जना सोही अस्पतालमा उपचार पश्चात डिस्चार्ज भएका छन् । यता बारा, सिम्रौनगढ नगरपालिका-११ लक्ष्मीनिया चोकमा म.प्र.२-०३-००७ प २०६० नम्बरको मोटरसाइकल र बा.प्र.०१-०३ च ४०७८ नम्बरको पिकअप एकआपसमा ठक्कर खाई सोमबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकल चालक रौतहट कटहरीया नगरपालिका-२ बिर्ती टोल बस्ने २५ वर्षीय सुरेश यादवको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल कलैया हुँदै नेशनल मेडिकल कलेज वीरगंज पर्सामा थप उपचारको क्रममा मृत्यु भएको हो । पिकअप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । त्यसैगरी डडेल्धुरा, आलिताल गाउँपालिका-१ घण्टेश्वर मन्दिर नजिक साहुखर्कबाट गैरातर्फ जाँदै गरेको से.२ त २४३१ नम्बरको ट्याक्टर अनियन्त्रित भई मंगलबार बिहान दुर्घटना हुँदा चालक कैलाली घोडाघोडी नगरपालिका-१० पहलवानपुर बस्ने ३० वर्षीय विशाल चौधरीको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।