नवकान्तिपुर संवाददाता
काठमाडौं, १९ पुस ।
देशका एइभिन्न स्थानमा भएको सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ । चितवन, भरतपुर महानगरपालिका-४ रामघाटस्थित सडकमा बा.प्र.०३-००१ च १२४४ नम्बरको बोलेरोको ठक्करबाट सोही ठाउँ बस्ने ४५ वर्षीया नुरजहान खातुनको बिहीबार साँझ मृत्यु भएको छ ।
ठक्करबाट गम्भीर घाइते भएकी उनको नयाँ मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो । बोलेरो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । त्यस्तै रोल्पा, सुनछहरी गाउँपालिका-६ फगाम धुम्सीस्थित सडकमा रूइनिवाङबाट फगामतर्फ जाँदै गरेको लु.१ ज ४८८९ नम्बरको बोलेरो गाडी बिहीबार राति दुर्घटना हुँदा बोलेरोमा सवार सोही ठाउँ बस्ने ५७ वर्षीया गौरा रोका मगरको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएकी उनको प्राथमिक स्वास्थ्य केन्द्र सुलिचौरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका बोलेरोका सहचालकको लुम्बिनी सिटी अस्पताल बुटवलमा उपचार भइरहेको छ । बोलेरो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यस्तै बझाङ, मष्टा गाउँपालिका-१ कोटदेवलस्थित सडकमा भातेखोलाबाट रनाडातर्फ आउँदै गरेको सु.प.प्र. ०१-००१ ज १३९८ नम्बरको जीप सडकबाट करिब १ सय मिटर तल खसेर बिहीबार राति दुर्घटना हुँदा चालक सोही ठाउँ बस्ने ४२ वर्षीय धर्म थापाको घटनास्थलमै मृत्यु भएको छ ।
उता सप्तरी, सुरूङगा नगरपालिका-३ लक्ष्मीपुरस्थित सडकमा हाल नम्बर नखुलेको सवारी साधनको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ६० वर्षीय राम बहादुर नेपालको शुक्रबार बिहान घटनास्थलमै मृत्यु भएको छ ।
हाल फरार चालक र सवारी साधनको प्रहरीले खोजी गरिरहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।